काठमाडौं । सरकारले कोरोनाको जाखिम जति बढेपनि एकैपटक देशव्यापी लकडाउन नगर्ने स्पष्ट पारेको छ ।
सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सरकारले अहिलेको अवस्थालाई हेरेर मुलुकव्यापी रुपमा लकडाउन नगर्ने बताएका हुन् । जोखिम भएको स्थानमा स्थानीय प्रशासनले निषेधाज्ञा वा अन्य कुनै कदम चाल्न सक्ने बताए ।
मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले जोखिम हुने ठाउँमा सेवा रोक्दै जानुपर्ने अवस्था आउन सक्ने तर मुलुकव्यापी रुपमा लकडाउन नहुने प्रस्ट्याए । उनले भने, सरकारले चैतमा घोषणा गरे जसरीको विधि अपनाएर जानेतर्फ सोचेको छैन । जोखिम बढ्यो भने स्थानीय प्रशासनले कदम चाल्न सक्छ ।
सरकारले परिस्थितिअनुसार लकडाउन हटाउने र आंशिक विधि अपनाएर केही खुकुलो पार्ने वा जोखिम बढेको स्थानमा कडाइ गर्न सक्ने उनको भनाई छ ।
काठमाडौंभित्र संक्रमणको जोखिम बढेकाले सिहंदरबार प्रवेशमा सर्वसाधरणलाई रोक लगाइएको मन्त्री खतिवडाले प्रतिक्रिया दिए । यस्तै उपत्यकामा जोरबिजोर प्रणाली संक्रमणको जोखिम बढेर नै लगाइएको उनले बताए । काठमाडौंभित्रको संक्रमणको जोखिम भएकाले केही कदम चाल्न थालिएको हो, मन्त्री खतिवडाले भने, यसले जनजीवनमा केही असर पर्छ । तर अतिआवश्यक वा जरुरीका काम छैन भने सार्वजनिक सेवा लिने कुरामा हतार नगरौं । स्वास्थ्य जोखिममा पर्यो भने ठूलो असर हुन्छ । उनले स्थिति सहज हुनेबित्तिकै सिंहदरबार प्रवेश खुला हुने पनि बताए ।