काठमाडौं । लकडाउन खुलेसँगै विभिन्न स्थानमा भीडभाड बढेको र भेला तथा छलफल समेत भएको भन्दै त्यसलाई बन्द गर्न सरकारले आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी, सामुदायिक तथा निजी कार्यालयहरुमा बैठक, गोष्ठी , सेमिनार तथा अन्य जमघट तुरुन्त बन्द गर्न आग्रह गरेको हो । बिहीबार भएको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बन्द गर्न नमिले भर्चुअल रुपमा बैठक बस्न आग्रह गरे ।
मन्त्रालयले भारतीय सीमा क्षेत्रका सीमानामा कोरोना संक्रमणको दर उच्च भएकाले प्रदेश सरकार, स्थानीय पालिका, गैरसरकारी संस्था तथा अन्य पेसा व्यवसायीका व्यक्तिलाई सावधानी अपनाउन आग्रह गरेको छ । प्रवक्ता डा गौतमले कोरोना परीक्षणको स्वाब संकलन गरेपछि कुनै पनि शंकास्पद व्यक्तिले रिपोर्ट नआउन्जेल अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने बताए ।
काठमाडौँ तथा अन्य घना बस्तीमा संक्रमितको संख्या बढिरहेकोले बेड, उपकरण तथा स्वास्थ्यमकर्मी अभाव हुन सक्ने उनको भनाइ छ ।