काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सा जिल्लाका ३ जना, सर्लाही र सिरहाका एक–एक जना गरी ५ जनाको मृत्यु भएको बताए।
यस्तै, पछिल्लो २४ घण्टामा ४ सय ६४ जना नयाँ संक्रमित पुष्टि भएको प्रवक्ता गौतमले बताए । यससँगै हालसम्म कुल संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ।
२४ घण्टामा मुलुकभरबाट थप ४ सय २५ जना डिस्चार्ज भएका छन्। हालसम्म १५ हजार ८ सय १४ जना निको भएर घर फर्किएका छन्। अहिले ६ हजार ३ सय ३० जना संक्रमितको आइसोलेसनमा उपचार भइराखेको छ।
प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६ जना संक्रमित थपिएको बताए। काठमाडौंमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा ७ हजार ९ सय २६ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताए। त्यस्तै देशभर क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या १० हजार २ सय ७ रहेको छ।