काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लीग (आइपिएल) को पहिलो चरणको अक्सनमा भाउ पाउन असफल भएका छन् । भारतको चेन्नईमा बिहीबार गरिएको मिनी अक्सनमा नेपाली क्रिकेटर लामिछानेले भाउ नपाएका हुन् । दिल्ली क्यापिटलसले यस सिजनका लागि रिलिज गरेपछि लामिछाने अक्सनमा परेका थिए । तर, उनको दोस्रोपटक पनि अक्सन हुनेछ । त्यो अक्सनमा भने सन्दीपलाई कुनै टीमले भाउ लगाउने संभावना छ । सन्दीपको सुरुवाती मूल्य ४० लाख भारु राखिएको छ । नेपाली ग्लोबल स्टार उनले अक्सनमा भाउ पाउँछन् कि पाउँदैनन् भन्नेमा धेरै नेपालीको चासो थियो । उनी विश्वकै सबैभन्दा धनी र ग्ल्यामर्सपूर्ण आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । उनले तीन सिजन दिल्ली क्यापिटल्सबाट खेलेका थिए । अक्सनमा सन्दीपसहित विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी गरी ८ खेलाडीले नेपाल क्रिकेट संघ (क्यान) मार्फत आवेदन दिएका थिए । त्यसमा सन्दीपमात्र अन्तिम अक्सनलाई छानिएका थिए ।