काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन्।
दानवी शक्तिमाथि दैवी शक्ति र असत्यमाथि सत्यको विजयस्वरूप देवी भागवत्, कालिका पुराण, चण्डी पाठ गरी चैत शुक्ल अष्टमीका दिन दसैँ मनाउने प्रचलन छ ।
यो दिन अशोकको फूल खानाले रोगव्याधि र शोक नाश हुन्छ भन्ने जनविश्वास छ । गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले कोरोना सङ्क्रमणबाट बच्न राजगुठीअन्तर्गतका सबै देवस्थल र भगवती मन्दिरमा सरकारले भनेअनुसारको सङ्ख्यामा मात्र भक्तजनलाई व्यवस्थित प्रवेश गराइने बताउनुभयो । हनुमानढोका दरबारस्थित मूलचोकमा ५४ राँगा र ५४ बोकाको बलि दिएर दशैँघरमा अर्चना गर्ने परम्परा छ ।