ललितपुर । करातेका फुलकन्ट्याक्ट खेलाडी, वरिष्ठ प्रशिक्षक तथा नेपाल फुल कन्ट्याक्ट कराते महासंंघका वरिष्ठ उपाध्यक्ष राजीप्रसाद बज्रचार्यको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यू भएको छ ।
बज्रचार्यलाई वैशाख १६ गते कोरोना संक्रमण भएको थियो । कोरोना संक्रमणपछि बलम्बुस्थित एपीएफ हस्पिटलमा भर्ना भएका थिए । उपचारकै क्रममा बज्रचार्यको मंगलबार विहान ११ः५५ बजे निधन भएको थियो ।
६५ वर्षिय बज्रचार्यलाई एक साताअघि घाँटी दुख्ने, ज्वरो आउने र सास फेर्न अप्ठारो महसुस भएपछि ललितपुरको महालक्ष्मीस्थानमा रहेको गणेशमान सिंह मेमोरियल अस्पतालमा भर्ना गरिएको उनका चेला तथा ललितपुर महानगरपालिका वडा नं. २१ का वडाअध्यक्ष रविन्द्र महर्जनले बताए ।
‘निमोनिया समेत देखिएपपिछ उहाँलाई भेन्टिलेटरमा राख्नुपर्ने भयो । गणेशमान सिंह हस्पिटलमा भेन्टिलेटर खाली नभएका कारण सोमबार एपीएफ हस्पिटल लगिएको हो,’ महर्जनले दैनिकीन्युजसँग भने । बज्रचार्यका श्रीमती र छोरा समेत कोरोना संक्रमित छन् । उनीहरु हाल होम आइसोलेसनमा छन् ।
बज्रचार्यले २०३८ सालदेखि राष्ट्रिय प्रतियोगिता खेल्न थालेका हुन् । । नेपाली क्योकुसिन करातेले पाएको सबैभन्दा उत्कृष्ट खेलाडीको रुपमा बज्रचार्यलाई चित्रण गरिन्छ । २०३९ सालमा मार्शट आर्ट विधाले औपचारिक रुपमा बैधानिकता प्राप्त गरेपश्चात अन्तर्राष्ट्रिय खेलकूदमा सहभागीता जनाउन उनको बाटो खुलेको थियो ।
२०१२ साल वैशाख २६ गते धरानमा जन्मिएका बज्रचार्यले दुई पटक वल्र्ड च्याम्पिसनसिप, सन १९८२ मा सिंगापुर, सन १९८४ मा इन्डोनेसियमा सम्पन्न अल एशिया फुल कन्ट्याक्ट कराते च्याम्पेसिनसिमा समेत सहभागी भई पदक प्राप्त गरेका थिए । २०४२ मा जापानमा भएको एशियाली क्योकुसिन करातेमा कास्य पदक जितेका थिए । अन्य थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि बज्रचार्यले सफलता पाएका छन् ।
राष्ट्रिय प्रतियोगितामा उनी आफ्नो तौल समूहमा दुईपल्ट राष्ट्रिय च्याम्पिएन बनेका थिए । खेलाडी जीवनपछि बज्रचार्यले क्योकुसिन कराते प्रशिक्षकका रुपमा सक्रिय थिए । उनको प्रशिक्षकबाट हजारौं खेलाडी उत्पादन गरेका थिए । नेपालमा क्योकुसिन करातेको विकास, विस्तार तथा प्रवर्धनमा निरन्तर संलग्न बज्रचार्यको निधनबाट एक कुशल प्रशिक्षक तथा अभिभावक गुमाएको सो खेलसँग सम्बद्ध व्यक्तित्व तथा पदाधिकारीहरुको ठम्याई रहेको छ ।
राष्ट्रियस्तरमा बज्रचार्यलाई क्योकुसिन करातेका सर्वकालीन महान खेलाडीका रुपमा चिनिन्छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुका पदकधारी बज्रचार्य कराते खेलका अग्रणी व्यक्तित्वका रुपमा परिचित थिए । उनका श्रीमती, एक छोरा र दुई छोरी छन् । उनी हाल ललितपुर महानगरपालिका वडा नं. १४ मा बस्दै आएका थिए ।