Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रभु बैंकको आर्थिक अपराध : कालोसूचीमा राखेको खाताबाट रकम लेनदेन

प्रभु बैंकको आर्थिक अपराध : कालोसूचीमा राखेको खाताबाट रकम लेनदेन

रामहरि कार्की

११, श्रावण २०७८
प्रभु बैंकको आर्थिक अपराध : कालोसूचीमा राखेको खाताबाट रकम लेनदेन
images

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ बर्गको इजाजत प्राप्त प्रभु बैंक लिमिटेडले बित्तीय अनुशासन बिपरित बैंकिङ कारोबार गरेको भेटिएको छ ।

कर्जा सूचना केन्द्रले बैंकको टंगालस्थित शाखा कार्यालयमा हात्ती एक्सन प्रालिको नाममा रहेको चल्ती खाता नम्बर १६२००१०१०३९०६३०००००१ लाई कालोसुचीमा राखेको थियो । सामान्यतया कर्जा सूचना केन्द्रको निर्देशनमा कालोसुचीमा राखिएको बैंक खाताको आर्थिक कारोबार रोक्का गर्नुपर्ने नियम छ । तर, बैंक कर्मचारी र खातावालाको मिलेमतोमा आर्थिक कारोबार भएको भेटिएको छ ।

कर्जा सूचना केन्द्रले १ माघ, २०७६ मा सो खातालाई कालोसूचीमा राखेको थियो । तर, त्यसपछि बैंक कर्मचारी तथा खातावालाको मिलेमतोमा २० लाख रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार भइसकेको छ । कर्जा सूचना केन्द्र र राष्ट्र बैंकको विनियमावलीले यसलाई ‘बित्तीय अपराध’ मान्ने गरेको छ ।

सो खाताका सञ्चालक सुरेश पाण्डेले आफ्नो व्यवसायिक साझेदारहरु रंजितकुृमार राउत र सत्येन्द्रकुमार मण्डललाई लिखितम् गरी हरहिसाब बापत तिर्नुपर्ने रकमका लागि चेक दिएका थिए । उनीहरु तिनै जना माछापुच्छ्रे पल्टिपर्पोज इन्भेष्टमेन्ट प्रालिका सञ्चालक थिए । तर, हरहिसाब बुझेर राउत र मण्डलले कम्पनीको शेयर पाण्डेलाई बिक्री गर्ने र त्यसबापत पाउनुपर्ने ४२ लाख ५० हजार रुपैयाँ पाण्डेबाट लिने गरी २७ चैत, २०७४ मा लिखत सम्झौता भएको थियो ।

सम्झौता बमोजिम केही रकम पाण्डेले दिएका थिए । त्यसपछि मण्डललाई २५ साउन २०७६ र ५ असोज २०७६ मा गरी ५–५ लाख रुपैयाँको दुई वटा चेक दिएका थिए । त्यस्तै राउतलाई २० साउन २०७६ मा ५ लाखको चेक दिएका थिए ।

हेर्नुहोस् हात्ती एक्सनले दिएको चेक

sachendra Kuma3 2.jpg

sachendra Kumar 3.jpg

तीन वटै चेक क्लियरिङका लागि पठाउँदा खातामा पर्याप्त मौदात नभएको कारण बैंकले भुक्तानी दिएको थिएन । पटक पटक बैंकमा चेक दाखिला गर्दा पनि रकम अभावमा चेक नसाटिएपछि दुवै (मण्डल र राउत) ले चेक अनादर (बाउन्स) का लागि बैंकमा निवेदन दिएका थिए ।

त्यसपछि तीन वटै चेक बाउन्स गरी मण्डल र राउतले राष्ट्र बैंकमा उजुरी दिएका थिए । लगत्तै उनीहरुले कर्जा सूचना केन्द्रलाई समेत पत्राचार गर्दै पटक पटक ताकेता गर्दा समेत भुक्तानी पाउन नसकेको भनि कालोसूचमिा राख्न अनुरोध गरेका थिए । प्रमाणित कागजातसहित दुवैको उजुरी परेपछि कर्जा सूचना केन्द्रले पाण्डे सञ्चालक रहेको हात्ती एक्सन प्रालिको खातालाई कालोसूचीमा राखेको हो ।

हेर्नुहोस् कालोसूचिमा राखिएको चिठ्ठी

karja 1.jpg

karja.jpg


हात्ती एक्सनका सञ्चालक पाण्डेको बदनियत

दैनिकीन्युजलाई प्राप्त कागजातअनुसार नुवाकोटका सुरेश पाण्डे र धनुषाका रंजितकुमार राउत तथा सत्येन्द्रकुमार मण्डल शुरुका दिनमा माछापुच्छ्रे मल्टीपर्पोज इन्भेष्टमेन्ट प्रालिका सेयर साझेदार रहेको देखिन्छ । राउत र मण्डल दुवैलाई सो कम्पनीमा पाण्डेले नै लगानीकर्ताको रुपमा भित्र्याएका हुन् । तर, राउत र मण्डल लगानीकर्ता हुनुअघि नै कम्पनीको सेयर संरचनालाई लिएर मुद्दा परेको थियो । यो बिषय केही समयमा सल्टिएपछि राउत र मण्डलले सेयर लगानी गरे बापतको रकम र सेयर धनी भएर बसेको अवधि भरमा कम्पनीले गरेको नाफाको हिस्सासमेत लिने गरी कम्पनी छाड्न चाहेको देखिन्छ ।

राउत र मण्डलले कम्पनी छाडे बापत ४२ लाख ५० हजार रुपैयाँ पाउने र उनीहरु दुवैको सेयर पाण्डेले खरिद गर्नेगरी हरहिसाब गर्ने सहमतिअनुसार २७ चैत, २०७४ मा लिखित करारनामा भएको थियो । सो करारनामा अनुसार राउत र मण्डलले पाउनुपर्ने ४२ लाख ५० हजार रुपैयाँ एकमुष्ट नभई चार किस्तामा पाण्डेले दिने शर्त राखिएको थियो । सबै रकम चुक्ता भएपछि मात्रै राउत र मण्डलको नाममा रहेको सेयर पाण्डको नाउमा स्थानान्तरण हुने उल्लेख छ ।

करारनामा अनुसार पहिलो तीन किस्ता १०–१० लाख रुपैयाँका दरले २०७५ को बैशाख, जेठ र असारमा भुक्तानी गर्ने तथा अन्तिम किस्ता बापतको १२ लाख ५० हजार रुपैयाँ भदौ १५ सम्म तिरिसक्नुपर्ने सर्त थियो । सर्तअनुसार पाण्डेले केही रकम दिएको मण्डल बताउँछन् । ‘पाण्डेजी राम्रै चिनजानको मान्छे हो । त्यसैले विश्वास गरेर आर्थिक कारोबार गर्नका लागि लिखित सम्झौता गर्यौं’ उनले भने, ‘शुरुका दिनमा उहाँ (पाण्डे) ले पैसा पनि दिदै जानुभयो तर अन्तिममा केही रकम बाँकी रहेको अवस्थामा दिन चाहनु भएको छैन ।’

१५ लाख रुपैयाँको तीन वटा चेक दिएपनि बैंकमा पर्याप्त मौज्दात नभएको भनि बाउन्स भएको उनले बताए । चेक बाउन्स गरेर कानूनी प्रकृयाअनुसार पैसा प्राप्तिका लागि लडाई जारी गरेको उनले बताए । ‘हामीले लगानी गरेको पैसा फिर्ता मागेका हौं । अरु केही होइन’ उनले भने ।

उनले प्रभु बैंकबाट पनि रकम प्राप्तीका लागि असहयोग भएको बताए । ‘हामीले पैसा लिन जाँदा पर्याप्त मौज्दात नभएको भनेर दिईएन । पछि बाउन्स पनि ग¥यौं’ उनले भने, ‘प्रभु बैंकलाई पनि यसबारे जानकारी दिएका छौं तर उनीहरुबाट असहयोग भएको छ’ मण्डलले भने ।

प्रभु बैंक, राष्ट्र बैंक र अख्तियारसम्म उजुरी

चेकमा उल्लेखित रकम पाउनका लागि चेक बाहक राउत र मण्डलले प्रभु बैंक, राष्ट्र बैंक, कर्जा सूचना केन्द्र हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी दिएका छन् । तर, प्रभु बैंकबाटै असहयोग भएको मण्डलले गुनासो गरे । राउतले चेकमा तोकिएको रकम पाउन नसकेपछि प्रभु बैंक, हरिवन (सर्लाही) मा ४ कात्तिक, २०७६ मा उजुरी दिएका थिए । उनले ५ लाखको चेक पाण्डेबाट २० साउन २०७६ मा लिएका थिए ।

तीन महिनासम्म चेक नसाटिएपछि बाध्य भएर बैंकमा उजुरी दिन गएको उनले बताए । ‘बैंकलाई पत्र लेख्दै चेकमा उल्लेख भएको रकम खातामा जम्मा गर्न आलटाल गरेको हुँदा सो खाता रोक्का गरी कारबाही प्रकृया अघि बढाई पाउँ भनेर मैले उजुरी दिएको थिएँ’ राउतले भने, ‘तर, बैंकले सुनेको नसुन्यै ग¥यो ।’

राउतको जस्तै मण्डलको पनि चेक नसाटिएपछि दुवै मिलेर २१ पुस २०७६ मा कर्जा सुचना केन्द्रमा उजुरी दिएका थिए । उनीहरुले सबै प्रमाण जुटाएर पाण्डेको हात्ती एक्सन प्रालिको नाममा रहेको खाता कालोसूचीमा राख्न आग्रह गरेका थिए । कर्जा सूचना केन्द्रले राउत र मण्डलको उजुरी लिदैं आवश्यक छानविनपछि पाण्डेको हात्ती एक्सन प्रालिको दोष ठह¥याउँदै १ माघ, २०७६ मा कालोसुचीम राख्ने निर्णय गरेको थियो । र, प्रभु बैंकलाई सोहीअनुसार परिपत्र जारी गरेको थियो ।

हेर्नुहोस प्रभु बैकलाई दिएको निवेदन

sachendr kumar 4.jpg

sachendr Kumar 5.jpg

तर, प्रभु बैंकका कर्मचारीले पाण्डेसँगको मिलेमतोमा सो खाताबाट आर्थिक कारोबार निर्वाध रुपमा गराइरहेका छन् । १५ लाख रुपैयाँको तीन वटा चेक बाउन्स गराएर कालोसूचीमा राखिएको खाताबाट मिलेमतोमा कारोबार गरी बैंकका कर्मचारीले आर्थिक अपराध गरेका छन् ।

पाण्डे र बैंक कर्मचारीको मिलेमतोमा कालोसूचीमा राखिएको खाताबाट आर्थिक कारोबार भएको बिषयमा राउत र मण्डलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका छन् । आयोगले उजुरी प्राप्त भएको र अनुसन्धान थालिएको जनाएको छ ।

हेर्नुहोस् अख्तियारमा दिएको निवेदन

Sachendra Kumar 1.jpg

 

images
प्रकाशित मिति :श्रावण ११, २०७८ सोमवार - २१:००:३८ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology