Logo

आइतवार, श्रावण २४ गते २०८३

images

भाद्रकृष्ण औँसी श्राद्ध आज, बुबाको मुख हेर्ने मङ्गलबार

भाद्रकृष्ण औँसी श्राद्ध आज, बुबाको मुख हेर्ने मङ्गलबार

दैनिकी न्यूज

२१, भाद्र २०७८
भाद्रकृष्ण औँसी श्राद्ध आज, बुबाको मुख हेर्ने मङ्गलबार
images

काठमाडौँ । भाद्रकृष्ण औँसीमा दिवङ्गत पितृका नाममा गरिने तर्पण, सिदादान र पिण्डदान आज र बाबुको मुख हेर्ने र कुश ग्रहण गर्ने कर्म मङ्गलबार गर्नुपर्ने छ ।

अपराह्नमा औँसी भएका दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार यस्तो निर्णय भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार आज बिहान सूर्योदय ५ः४५ बजे भएकोे छ ।

समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले आज बिहान ६ः५६ मिनेटसम्म चतुर्दशी तिथि र त्यसपछि औँसी भएकाले अपराह्नकालमा औँसी तिथि परेको बताउनुभयो ।

सूर्योदयमा औँसी भएका दिन स्नान, दान आदि कर्म गर्ने, हलो बार्ने, बाबुको मुख हेर्ने आदि पर्व मनाउनुपर्ने शास्त्रीय विधिका आधारमा यी कर्म भदौ २२ गते मङ्गलबार गर्नुपर्ने समितिले स्वीकृति दिएको पञ्चाङ्ग ९पात्रो० मा उल्लेख छ । मङ्गलबार बिहान ६ः२५ सम्म औँसी तिथि छ । सूर्योदय बिहान ५ः४६ बजे हुन्छ ।

मघा नक्षत्र भएकाले आज श्राद्ध गर्न नहुने धर्मशास्त्रविद् गौतमले जानकारीदिनुभयो । मघा नक्षत्र भएका दिन श्राद्ध गरेमा जेठो छोरा नाश हुने शास्त्रीय वचन छ । सन्तान नहुनेले भने आज श्राद्ध गर्छन् । मघामा पिण्ड नदिई गरिने श्राद्ध भने आज गरिन्छ । तीर्थमा गरिने श्राद्ध मघा नक्षत्र परे पनि गर्नुहुन्छ भन्ने मान्यता राख्नेहरु आज बिहानैदेखि गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा पुगेका छन् ।

दूरी कायम गरी श्राद्ध
मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ आज श्राद्ध गर्न आउनेलाई दूरी कायम गरेर कर्म गर्न दिइने बताउनुभयो । मङ्गलबार कुशे औँसीका अवसरमा हुने मेला भने स्थगित गरिएको उहाँले सुनाउनुभयो ।

मङ्गलबार बिहानैदेखि प्रहरी परिचालन गरेर मेला रोक्ने समितिको तयारी छ । भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा श्राद्ध गरेमा घर र मामाघरतिरका २१ पुस्तासम्मका पितृले पार पाउँछन् भन्ने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा प्रत्येक वर्ष गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाखौँ भक्तजन आउने गर्छन् । कोरोना महामारीका कारण गत वर्ष यस वर्ष पनि मन्दिर क्षेत्रमा लाग्ने मेला रोकिएको छ । यस अवसरमा मन्दिरमा हुने नित्य पूजा आराधना भने यथावत् रहने समितिले जनाएको छ । रासस

images
प्रकाशित मिति :भाद्र २१, २०७८ सोमवार - ०९:२०:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology