काठमाडौं । हिन्दु नारीहरुले आज हरितालिका तीज मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ।
विवाहिताहरूले आफ्ना पति छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताहरूले असल पतिको कामनामा व्रत बस्ने भन्ने लौकिक चलन पनि छ।
सक्नेले दिनभर पानीसमेत नखाई व्रत बस्ने साँझ पौराणिक विधिले उमामहेश्वरको पूजा गर्ने, कथा सुन्ने गर्छन्। भोलिपल्ट सबेरै लोापामुद्रालाई अर्घ्य दिएपछि तिजको व्रत पूर्ण भएको मानिन्छ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले आजैको दिन निराहार व्रत बसी महादेव पति पाउने वरदान पाएकीले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।
महादेव स्वामी पाउने पार्वतीको इच्छा विपरीत पिता हिमालयले उनको विवाह विष्णुसँग गरिदिन खोजेपछि सखीहरुलाई समस्या सुनाउँदा उनलाई हरण गरी लुकाएर राखेको धर्मशास्त्रमा उल्लेख पाइन्छ। सखीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी भाद्र शुक्ल तृतीयाको दिन महादेवलाई प्राप्त गरेको र त्यही समयदेखि हरितालिका तीजको व्रतको प्रचलन शुरु भएको मान्यता छ।
नारीहरुले तीजमा नाचगान गरेर रामरमाइलो पनि गर्छन्। यसपालीको तिजलाई कोरोना संक्रमण महामारीले प्रभाव पारेको छ।