Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अमेरिकाले नेपाललाई दियो २३१ रनको लक्ष्य

अमेरिकाले नेपाललाई दियो २३१ रनको लक्ष्य

दैनिकी न्यूज

२८, भाद्र २०७८
अमेरिकाले नेपाललाई दियो २३१ रनको लक्ष्य
images

काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत अमेरिकासँगको खेलमा नेपालले २३१ रनको लक्ष्य पाएको छ । ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले २३० रन बनाएपछि नेपालले २३१ रनको लक्ष्य पाएको हो ।

अमेरिका मोनांक पटेलले ११४ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेले । मोनांक पटेल बाहेक अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् । अमेरिकालाई ओपनर स्टिभ टेलर र मोडानीले पहिलो विकेटका लागि ३.५ ओभरमा १७ रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर विक्रम सोबको बलमा टेलर एज लागेर सकेन्ड स्लिपमा कुशल भुर्तेलबाट १४ रनमा क्याच आउट हुन पुगेका थिए । टेलरले १७ बलमा १ चौका प्रहार गरे ।

१० औं ओभरको अन्तिम बलमा मोडानीलाई स्पिनर सन्दीप लामिछानेले १६ रनमा एलबिडब्लू आउट गर्दै नेपाललाई दोस्रो सफलता दिलाए । मोडानीले २८ बलमा १ चौका प्रहार गरे । तेस्रो विकेटको लागि मोनांक पटेल र निसर्ग पटेलले ४९ रनको साझेदारी गर्दैै इनिङ खेलेका थिए । स्पिनर कुशल मल्लले निसर्गलाई २१ रनमा बोल्ड आउट गर्दै साझेदारी तोडेका थिए । नास्टुश केंजोगे १३ रनमा आउट भए ।

३७ औं ओभरको दोस्रो बलमा स्पिनर सुशान भारीले जसकरण मल्होत्रालाई ११ रनमा कुशल भुर्तेलबाट क्याच गराउँदै महत्वपूर्ण सफलता दिलाए ।

भारीकै बलमा ठूलो सर्ट खेल्ने धुनमा सन्जय कृष्णमुर्ती १३ रनमा करण केसीबाट क्याच आउट भएका थिए । करिमा गोरलाई सन्दीपले १६ रनमा रन आउट गराए । अभिषेक पराडकार १३ र कप्तान सौरभ नेत्रवालकार ६ रनमा अविजित रहे ।

नेपालका विक्रम सोब, सुशन भारी र सन्दीप लामिछानेले दुई/दुई तथा कुशल मल्लले १ विकेट लिए ।

images
प्रकाशित मिति :भाद्र २८, २०७८ सोमवार - २०:०४:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology