काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले ओमानलाई पराजित गरेको छ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा ओमानसँग यसअघि लगातार तीन खेलमा पराजित भएको नेपालले चौथो खेलमा भने जित हात पार्न सफल भएको हो।
अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गरेको हो।
ओमानले दिएको १२२ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले । लगातार दोस्रो अर्धशतक बनाउने क्रममा मल्लले ४६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। उनले यस अघि अमेरिकाविरुद्धको खेलमा अर्धशतक बनाएका थिए ।
यस्तै ओपनर आसिफ शेखले ४० रन जोडे । शरद भेषवाकर १ रनमा अविजित रहे । ओपनर कुशल भुर्तेल र रोहित पौडेल समान ६÷६ रनमा आउट भए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनाएको थियो ।
यस जितसँगै नेपालले सिरिजको सुखद अन्त्य गरेको छ । सिरिजमा नेपालले खेलेको ४ खेलमा २ जित र २ हार व्यहोर्यो । सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो ।
दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।
ओमानलाई हराएपछि नेपाल लिग–२ को चौंथो स्थानमा समेत उक्लिएको छ । नेपालले ८ खेलमा ८ अंक जोडेको छ । ओमान १३ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।