काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ।
सोमबार राति माल्दिभ्समा भएको खेलमा नेपालले श्रीलंकालाई ३–२ गोलले पराजित गर्यो। नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे ।
श्रीलंकाका मार्भिन ह्यामिल्टन र डी सिल्भाले एक एक गोल फर्काए ।
साफमा नेपाल र श्रीलंकाबीच यसअघि पाँच पटक प्रतिस्पर्धा भएको थिए। जसमा नेपालले तीन खेलमा हार, एक खेलमा बराबरी र एक खेलमा जित हात पारेको थियो।
यस जितसँगै नेपाल शीर्ष स्थानमा उक्लिएको छ । नेपालले २ खेलमा ६ अंक जोडेको छ ।
नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको थियो ।
श्रीलंकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंका बंगलादेशसँग १–० ले पराजित भएको थियो ।
यसपटकको साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।
पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।