काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले भारतको सामाना गर्दैछ । राति ९ः४५ बजे हुने खेलमा नेपालले जिते सीधै फाइनल यात्रा तय हुनेछ । तर फाइनलमा स्थान तय गर्न भारतलाई भने बाँकी खेल जित्नै पर्ने दबाब छ ।
सात पटकको च्याम्पियन भारतलाई हराउन सहज नभए पनि शुरूवाती दुई खेल जितेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रदैछ । भारतकाविरूद्ध जित्नकै लागि खेल्ने भन्दै प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली खेलाडीलाई ढाडस दिएका छन् ।
२ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको नेपाल भारतसँग यसअघिका खेलमा कमजोर देखिएको छ । तथापि जारी साफमा २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । त्यसैले भारतविरूद्ध नेपाल हावी हुन सक्ने पनि ठानिएको छ ।
भारतविरुद्ध नेपालले हालसम्म २१ खेल खेलेको छ । जसमा भारत पुर्णरुपमा हाबी छ । नेपालविरुद्ध भारतले १४ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।
पछिल्लो पटक नेपालले भदौमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा नेपालले एक खेल बराबरी खेल्दा एक खेलमा हार व्यहोरेको थियो ।