ललितपुर । महालक्ष्मी नगरपालिका वडा नंं ४ इमाडोलस्थित स्वस्तिक खेलकुद क्लबले आयोजना गरेको दोस्रो स्वस्तिक प्रिमियर लिग ब्याडमिण्डटन प्रतियोगिता सम्पन्न भएको छ । तीनओटा समूहका २० टीमबीच भएको ब्याडमिण्टन लिगको समूह ‘ए’ अन्तर्गत भोगिराज राई र खम्बराज राईको जोडीले छत्रबहादुर नायक र बमबहादुर थापाको जोडीलाई पराजित गर्दै उपाधी हात पारेको हो । यसैगरी समूह ‘बी’ अन्तगर्तको प्रतिस्पर्धामा रामकुमार लामा र बालकृष्ण पौडेलेको जोडीले कुमार घिमिरे र विनोद शर्माको जोडीलाई पराजित गरेको थियो भने समूह ‘सी’को खेलमा भने संगम राई र पारसमणि गड्तौलाको टीमले हरि थापा र रामचन्द्र अर्यालको जोडीलाई पराजित गरेको थियो । दोस्रो स्वस्तिक प्रिमियर लिग ब्याडमिण्टन प्रतियोगितामा तीनै समूहमा गरी जम्मा २० ओटा टीम सहभागी भएका थिए ।
लिगका विजेता टीमलाई महालक्ष्मी नगरपालिका वडा नं. ४ का अध्यक्ष लक्ष्मण रोक्कासहितका जनप्रतिनिधिले शिल्ड तथा मेडल प्रदान गरेका थिए । प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष रोक्काले भने, ‘स्वस्तिक खेलकुद क्लबले गत वर्षदेखि सुरु गरेको स्वस्तिक प्रिमियर लिगले खेल क्षेत्रको विकासका साथै सामाजिक सम्बन्ध विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । वडाले यहाँको खेल क्षेत्रको विकासका लागि आगामी दिनमा निरन्तर काम गर्नेछ ।’ समापन कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नं. ४ का सदस्य भक्तिमाया थापा र नरदीप घिमिरेले दशैं, तिहार, नेपाल सम्वत् र छठ लगायतका पर्वको शुभकामना व्यक्त गरेका थिए ।
स्वस्तिक खेलकुद क्लबका अध्यक्ष जेबी विश्वकर्माले दोस्रो स्वस्तिक प्रिमियर लिग भव्यतापूर्वक सम्पन्न भएको बताए । उनले भने, ‘खेलकुदको विकासका साथै सामाजिक सम्बन्धलाई बलियो बनाउने उद्देश्यले स्वस्तिक प्रिमियर लिग ब्याडमिण्टन प्रतियोगिता सुरु गरिएको हो । गतवर्षदेखि सुरु भएको लिगले बिस्तारै उचाई हासिल गर्दै गइरहेको छ र आगामी दिनमा थप व्यवस्थितक बनाउँदै लैजाने योजना रहेको छ ।’ क्बले आगामी दिनमा नगरपालिकास्तरको प्रतियोगिता गर्ने योजना बनाएको समेत उनले बताए ।