Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नवरात्रको पाँचौं दिन स्कन्दमाताको पूजा गरिँदै

नवरात्रको पाँचौं दिन स्कन्दमाताको पूजा गरिँदै

दैनिकी न्यूज

२५, आश्विन २०७८
नवरात्रको पाँचौं दिन स्कन्दमाताको पूजा गरिँदै
images

काठमाडौं । नवरात्रको पाँचौं दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । स्कन्दको अर्थ सनतकुमार रहेको छ । स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंसाहनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

नवरात्रको पहिलो दिन असोज २१ गते बिहीबार दशैंघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन शुक्रबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौथो दिन आइतबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।

पाँचौं दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् ।

दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । गत वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले सबैजसो देवी मन्दिर बन्द गरिएको थियो । यस वर्ष भने जोखिम कम हुँदै गएकाले भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित मन्दिर भने खुला गरिएको छ । यस वर्ष नवरात्रको पहिलो दिनदेखि नै शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।

प्रशासनले कोरोना जोखिम कम देखिए पनि महामारी नहटेकाले कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जाने, खानपिन गरी दशैं, तिहारजस्ता चाडपर्व मनाउन आह्वान गरेको छ । तीनै तहका सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेरमात्र चाडपर्व मनाउन आह्वान गरेका छन् । शक्तिपीठमा भक्तजनले मास्क लगाएपनि दूरी कायम हुन नसकेको मैतीदेवी मन्दिरमा पूजा आराधना गर्न पुगेकी दर्शनार्थी सविता सिग्देलले सुनाइन् । रासस

images
प्रकाशित मिति :आश्विन २५, २०७८ सोमवार - ०८:४०:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology