माले, माल्दिभ्स । नेपाल साफ च्याम्पियनसिप उपाधि रक्षा गर्न असफल भएको छ । शनिबार माल्दिभ्सको मालेस्थित नेशनल स्टेडियममा भएको फाइनल खेलमा भारतसँग ३-० गोलले पराजित भएपछि पहिलोपटक उपाधी उचाल्ने नेपालको सपना तुहियो । भारी वर्षा, पहिलो पल्ट फाइनल खेल्नुको तनाव, अनि ‘डगआउट’ मा मुख्य प्रशिक्षकको अनुपस्थिति लगायत दबाबबीच मैदान उत्रिएको नेपालले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । तर दोस्रो हाफको ४९ र ५० औं मिनेटको अन्तरमा भारतले दुई गोल गर्यो । यससँगै प्रतियोगिताको इतिहासमै पहिलो पल्ट फाइनल पुगेको नेपाल उप विजेतामै सीमित भयो । भारतले साफ च्याम्पियनसिपको उपाधि जितेको यो आठौं पल्ट हो । राउन्ड रोबिनको आधारमा चलेको प्रतियोगिताको लिग चरणका सुरुआती दुई बराबरी खेलेर कमजोर सुरुआत लिएको भारतले त्यसपछि भने लगातार खेल जितेको थियो । वर्षाबीच चलेको खेलको पहिलो गोल सुनिल क्षेत्रीले ४९ औं मिनेटमा गरे । नजिकको दूरीमा प्राप्त क्रसलाई उनले सजिलै हेडबाट पहिलो गोल गरे ।
पहिलो गोल खाएर सम्हालिन पनि नपाएको नेपालविरुद्ध सुरेश सिंहले ५० औं मिनेटमा दोस्रो गोल थपे र उनले यसका लागि पेनाल्टी एरियाबाट शक्तिशाली प्रहार गरेका थिए । यस्तै खेलको ९० औं मिनेटमा सब्टिच्युट साह अल्दुलले तेस्रो गोल गरे ।