ललितपुर । कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपिलाल सिंतानले आफू पदमा भएपनि र नभएपनि जनताको सेवामा सधैं काम गरिरहने बताएका छन् ।
माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको कोन्जोसोम गाउँपालिका प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले जनतालाई पर्ने समस्या समाधानका लागि आफूलाई कुनै पद नचाहने बताए ।
‘मैले गाउँपालिका प्रमुख भएर ५ वर्ष बिताइसकेको छु, यो पालिकाका जनतालाई कुनै समस्या हुँदा जुनसुकै बेला सहयोग गर्न तयार छु‘, उनले भने, ‘जनताको काम गर्न, समस्या समाधान गर्न मलाई कुनै पद नभएपनी गर्न सक्छु ।‘
कोन्ज्योसोम उपत्यकामै माओवादी केन्द्रले जितेको पहिलो गाउँपालिका हो । ५ वर्षको अवधिमा थुप्रै जनप्रिय काम गर्दा पनि प्रचारप्रसार नभएकोमा उनले गुनासो गरे ।
‘तपाईंहरु सबैले यो पालिका डुल्नु भए हुन्छ, ५ वर्षमा आश्चर्यलाग्दा काम गरिएको छ । सडक निर्माण र कालोपत्रे भएका छन् राम्रा र दीर्घकालीन योजना भएका आयोजना बनेका छन् तर गरेका कामबारे प्रचार नै हुँदैन,‘ सिंङ्तानले भने ।
पार्टी बनाउन र जनताको पक्षमा सधैं काम गर्ने उनले प्रतिबद्धता जनाए । ‘नेकपा माओवादीले मात्र जनताको पक्षमा काम गर्छ भन्ने व्यवहारले देखाइसकेको छ,‘ उनले थपे, ‘अब पनि यस क्षेत्रको विकास निर्माणको लागि माओवादी नै चाहिन्छ नत्र जनताको काम हुँदैन ।‘
अध्यक्ष सिंतानले प्रेस सेन्टरमा रहेका पत्रकारहरूलाई सही सूचना सम्प्रेषण गरेर जनतालाई जानकारी दिन आग्रह पनि गरे ।
मिडिया र पत्रकारले जे देख्यो त्यही लेख्ने हो भने जनताले सही सूचना पाउछन्, उनले भने, पछिल्लो दिन गरेका कामको समेत राम्रोसँग नलेख्दा अन्योलता बढेको छ । यसको अन्त्य गर्न प्रेस सेन्टरका पत्रकारलाई आग्रह गरे । मैले गल्ती गरेको भए त्यो पनि लेख्नुस, तर विपक्षी पार्टीहरुले गरेका अनियमितता, भ्रष्टाचार चुप लाग्ने अनि हामीले गरेको राम्रो काम नदेखी चुप लाग्नु भएन,‘ उनले भने । पालिकालाइ मिडिया मैत्री बनाएको बताउदै उनले सूचना र प्रविधिलाई केन्द्रसंग जोडिरहेको जानकारी दिए ।

आज सम्मन्न भेलाले कोन्ज्योसोम गाउँपालिकामा मन कुमारी सिंतानको अध्यक्षता ११ सदस्ययी कमिटि, महांकाल गाउँपालिकामा अम्बर परियारको नेतृत्वमा ११ सदस्यीय र बागमती गाउँपालिकामा केशव घिमिरेको नेतृत्वमा ११ सदस्यीय कमिटी गठन गरिएको छ ।
कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सदस्य ज्ञान प्रसाद पौडेल, उपत्यकाका प्रदेशका संयोजक नवराज दाहाल, पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने, प्रेस सेन्टर ललितपुरका संयोजक रामहरि कार्की र गोपाल आले मगरकोसमेत उपस्थिति रहेको थियो ।