Logo

बुधवार, श्रावण २७ गते २०८३

images

काँग्रेसको यी जिल्लाहरुमा आज अधिवेशन हुँदै

काँग्रेसको यी जिल्लाहरुमा आज अधिवेशन हुँदै

दैनिकी न्यूज

१०, मंसिर २०७८
काँग्रेसको यी जिल्लाहरुमा आज अधिवेशन हुँदै
images

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज ४२ जिल्लामा पार्टीको जिल्ला अधिवेशन हुँदैछ । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले दुई वटाभन्दा बढी निर्वाचन क्षेत्र भएका ४२ जिल्लामा जिल्ला अधिवेशन गरिने जानकारी दिए ।

एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा यसअघि नै जिल्ला अधिवेशन सुरु भइसकेको छ । एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका ४२ जिल्लामा मंसिर १० गते जिल्ला अधिवेशन गर्ने महाधिवेशन कार्यतालिमा उल्लेख छ । प्रदेश दुईका ८ जिल्लाबाहेक बाँकीमा आजदेखि नै जिल्ला अधिवेशन सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

काँग्रेसको विधानअनुसार पार्टीका जिल्ला कार्यसमितिमा सभापति, दुई जना उपसभापति दुई जना सचिव र दुई जना सहसचिव निर्वाचित हुने प्रावधान छ । जिल्ला कार्यसमितिका सबै पदाधिकारी निर्वाचनको माध्यमबाट चुनिने व्यवस्था छ ।

कोषाध्यक्ष भने पार्टीको जिल्ला सभापतिले निर्वाचित सदस्यमध्येबाट मनोनीत गर्ने प्रावधान छ । सदस्य निर्वाचन क्षेत्रका आधारमा कार्यसमितिमा चयन हुनेछ । पार्टीका जिल्ला सभापतिमा निर्वाचित विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । सभापति पदको पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जना उम्मेदवारका बीचमा पुनः मतदान गरी बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछन् तर पहिलो पटक नै दुई जना मात्र उम्मेदवार भएमा बढी मत प्राप्त गर्ने उम्मेदवार नै विजयी हुने प्रावधान छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार बर्दिया, बाँके, सप्तरी, सिराहामा बिहीबार क्षेत्रीय अधिवेशन भएकोले केही दिनपछि मात्रै जिल्ला अधिवेशन हुनेछ । साथै सिन्धुपाल्चोक, धनुषा र महोत्तरी, रसुवा, दार्चुला, धनकुटा र सर्लाहीमा शुक्रबार जिल्ला अधिवेशन नहुने भएको छ । काँग्रेसले शुक्रबारसम्म सबै जिल्लामा जिल्ला अधिवेशन सक्न निर्देशन गरेको थियो ।

images
प्रकाशित मिति :मंसिर १०, २०७८ शुक्रवार - ०९:०४:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology