काठमाडौं । अध्यक्ष पदमा हारेपनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारीमा कमल थापा समूहको वर्चस्व देखिएको छ । अध्यक्षमा थापा १ सय ९९ मत अन्तरले राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । तर थापाको प्यानलबाट उठेका उपाध्यक्षमा बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र महिला उपाध्यक्षमा रोशन कार्की विजयी भएका छन् ।
यस्तै, महिला महामन्त्रीमा थापा समूहबाट कुन्ती शाही विजयी भइन् । लिङ्देन समूहबाट महिला महामन्त्रीमा उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापा भने पराजित भएकी छिन् । यस्तै,अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्गदेनको समूहबाट महामन्त्रीमा उठेका धवलशमशेर राणा विजयी भए । यस्तै, थापा प्यानलका भुवन पाठक पनि महामन्त्रीमा निर्वाचित भए । उपाध्यक्षमा विक्रम पाण्डे निर्वाचित भए । पाण्डे दुवै प्यानलमा थिए । दुवै पक्षले आफूलाई समावेश गरे पनि पाण्डे चुनावी प्रचारप्रसारका क्रममा लिङ्देन समूहमा देखिएका थिए ।