काठमाडौँ । कांग्रेसको नयाँ सभापति चयनका लागि भएको चुनावको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म प्राप्त मतगणनाको परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् ।
अहिलेसम्म ३ हजार ७७९ मत गणना हुँदा देउवाले १ हजार ७९८ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १ हजार ४१३ र प्रकाशमान सिंहले २८६ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले २०० मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १९ मत मात्र प्राप्त भएको छ ।
कूल ४ हजार ७४३ मतदातामध्ये ४ हजार ६७९ मत खसेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरुको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरुको मतगणना पार्टी कार्यालय सानेपामा हुने बताइएको छ । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।
१४औं महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।