ललितपुर । आइतबार मुलुकभित्र र बाहिर रहेका नेवार समुदायले योमरी पर्वका साथै ज्यापु दिवस मनाएका छन् ।
ज्यापु दिवसमा अवसरमा ज्यापु समाजले आयोजना गरेको कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले नेपालमा बोलिने सबै भाषा र संस्कृतिको सम्मान गरिने बताइन । कार्यक्रममा मन्त्री भुसालले ज्यापु समाजले भाषा र संस्कृतीको संरक्षण गर्ने हरेक कामलाई सरकारले सहयोग गर्ने बताइन ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ, श्रम, रोगजार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले ज्यापु दिवसले नेपालभाषा र संस्कृतिको विकासमा मुलुकलाई पुर्याएको अतुलनीय योगदानको चर्चा गरेका थिए ।
काठमाडौं उपत्यका सांस्कृतिक रुपमा नेपाल विश्वकै धनी मुलुकहरु मध्येमा पर्दछ । यहाँका केही सांस्कृतिक विविधता तथा ऐतिहासिक महत्वका सम्पदाहरु विश्वमा नै नमुनाको रुपमा लिइन्छ । विश्वमानै प्रसिद्धि कमाएका नेपालका जीवन्त कला तथा सांस्कृतिक निधिहरु संरक्षण तथा सम्वद्र्धन गर्न ज्यापु संस्कृति विकास कोषले २०६१ सालदेखि सांस्कृतिक अभियानकै रुपमा ज्यापु दिवस मनाउँदै आएको छ ।
यो दिवसलाई सरकारले मान्यता दिएर बिदा दिँदै आएको छ भने विश्वभर छरिएका नेवार सुमदायले यो पर्वलाई योमरी पर्व र ज्यापु दिवसका रुपमा भव्यताका साथ मनाउदै आएको छ ।
नेवा संस्कृति नेवार समुदायको मात्र पर्व नभई मुलुककै भएकाले यसको संरक्षण गर्न सरकारले विशेष योजना बनाई काम गर्नु पर्ने ज्यापु समाजका अध्यक्ष तीर्थलाल महर्जनले बताए ।