Logo

बुधवार, श्रावण २७ गते २०८३

images

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

दैनिकी न्यूज

१४, पौष २०७८
सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
images

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश राजकुमार कोइरालाको इजलासले ठगी तथा संगठित अपराध मुद्दा लागेका तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

उनीसँगै पक्राउ परेका सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ पनि जेल चलान भएको जिल्ला अदालतका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले बताए।

सहकारी ठगी प्रकरणमा तामाङ, श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। उनीहरूसँग पाँच अर्ब ६३ करोड बिगो माग गरी मुद्दा दायर गरिएको थियो।

काठमाडौं जिल्ला अदालतले थुनछेक बहसपछि तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

अदालतले तामाङसँगै केशवलाल श्रेष्ठलाई पनि थुनामा पठाउन आदेश दिएको छ । सिभिल सहकारीको रकम अपचलन गरी निक्षेपकर्ताको रकम फिर्ता नगरेको उजुरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई पक्राउ गरेको थियो ।

त्यस्तै बिजय बिक्रम शाहीलाई १५ लाख, भगवानबहादुर सिंह (डंगोल) लाई १० लाख, बुद्ध राज तामाङलाई ५ लाख, कौस्तुभ केतन ढुङगानालाई ५ लाख, एलिना तुलाधरलाई ५ लाख, मायोनानी महर्जनलाई ५ लाख, शंकरप्रसाद पाठकलाई २ लाख ५० हजार, राकेश महर्जनलाई ५० हजार धरौटीमा रिहा गर्ने अदालतले आदेश दिएको छ । संगित श्रेष्ठलाई भने साधारण तारेखमा रिहा गरिएको छ ।

सीआईबीले अनुसन्धानपछि काठमाडौं जिल्ला अदालतमा ४२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । न्यायाधीश राजकुमार कोइरालाको इजलासमा उनीहरूविरुद्ध थुनछेक बहस चलेको थियो ।

सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । सरकारी वकिलको कार्यालयले तामाङसहित ४२ जनालाई प्रतिवादी बनाएको छ । तामाङविरुद्ध ८ वर्ष कैद सजाय र बिगोबापत ५ अर्ब ५९ करोड रुपैयाँ जरिवाना मागदाबी गरिएको छ ।

तामाङकी श्रीमतीसहित २ छोरीलाई पनि प्रतिवादी बनाइएको छ । सीआईबीले ५२ दिन अनुसन्धान गरेर १० मंसिरमा सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो ।

सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको भन्दै सिआइबीले असोज १८ गते तामाङलाई पक्राउ गरेको थियो । प्रहरी अनुसन्धानमा तामाङले सिभिल सहकारीको रकम आफ्ना अन्य २२ कम्पनीमार्फत लगानी गरेर वचतकर्ताको रकम हिनामिना गरेको खुलेको थियो ।

तामाङ दोस्रो संविधान सभामा एमालेको तर्फबाट सांसदसमेत भएका थिए ।

images
प्रकाशित मिति :पौष १४, २०७८ बुधवार - २०:०२:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology