काठमाडौं । आज १ जनवरी २०२२ । अर्थात अंग्रेजी नयाँ वर्ष । आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रुपमा मनाइँदैछ। विगतका वर्षहरुमा जस्तै यो वर्षपनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अंग्रेजी नयाँ वर्षलाई अझै विशेष बनाउने तयारी भइरहेको छ ।
जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ ।
मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् ।
राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपाल, स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्युचोली राष्ट्रिय जागरण अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपाल लगायतका संघसंस्थाले राजधानीको माइतीघरमा भेला भएर उक्त दिवस मनाउने गरेका छन् ।
अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवर्द्धन गर्ने र देशभित्र पनि आफ्नो संस्कृतिको प्रवर्द्धन र प्रसार गर्न मद्दत पुर्याउने उद्देश्यले टोपी दिवस मनाउन लागेको कार्यक्रमका युवाहरुले बताएका छन् ।
नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ ।