ललितपुर । ललितपुरका करिब १३ हजार विद्यार्थीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको फाइजर खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालयका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप मंगलबारदेखि दिन थालेको हो ।
खोप अभियानअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहका ललितपुरका विभिन्न विद्यालयमा अध्ययनरत १२ हजार ७६० जना विद्यार्थीले खोप लगाएका हुन् ।
विद्यार्थीको सहजतालाई ध्यानमा राखी स्वास्थ्य कार्यालय, ललितपुरले स्थानीय तहसँगको समन्वयमा विद्यालयमा नै खोप केन्द्र राखी खोप दिएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख सतिश विष्टका अनुसार ललितपुर महानगरका ७ हजार ४४, महालक्ष्मी नगरपालिकाका २ हजार १७५, गोदावरी नगरपालिकाका २ हजार १३४, कोन्ज्योसोम गाउँपालिकाका ३८९, महांकाल गाउँपालिकाका ५३० जना र बागमती गाउँपालिकाका ४८८ जना विद्यार्थीले खोप लगाएको जानकारी दिए ।
प्रमुख बिष्टका अनुसार ललितपुर महानगरमा पुस २७ गतेदेखि माघ २ गतेसम्म, महालक्ष्मी नगरपालिकामा पुस २७ गतेदेखि माघ ४ सम्म, गोदावरी नगरपालिमा पुस २७ गतेदेखि माघ ३ गतेसम्म, कोन्ज्योसोम गाउँपालिकामा पुस २७ गतेदेखि पुस २९ गतेसम्म, महांकाल गाउँपालिकामा पुस २७, २८ गते र बागमती गाउँपालिकामा पुस २७ गतेदेखि पुस २९ गतेसम्म खोप अभियान सञ्चालन हुने बताए ।
कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न खोप अभियान सञ्चालन भइरहेको छ । “विद्यालय बन्द भए पनि स्थानीय तह र विद्यालयले समन्वय गरी खोप लगाउनेछन ।”, विष्टले भने ।
ललितपुरका ६ वटै स्थानीय तहमा रहेका विद्यालयमा खोप अभियान बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुने र खोप लगाउन विद्यार्थीले विद्यालयको परिचयपत्र अनिवार्य साथमा ल्याउनुपर्ने प्रावधानको व्यवस्था गरेको छ । खोप अभियानका लागि ललितपुरले विभिन्न विद्यालयमा खोप केन्द्र तोकेको छ ।