काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन्।महाअभियोगको प्रस्तावकमा माओवादीका देव गुरूङ, कांग्रेसकी पुष्पा भुसाल र नेकपा एसका जीवनराम श्रेष्ठ छन्। प्रस्तावमाथि ९८ जना सांसदले हस्ताक्षर गरेका छन्।
मन्त्रिपरिषदमा भागबन्डा खोजेको, विभिन्न मुद्दाहरू प्रभावित पार्न खोजेको लगायतका गरेको आरोप लागेका प्रधानन्यायाधीश राणाविरूद्ध न्याय क्षेत्रभित्रैबाट आन्दोलन भइरहेको छ। यसअघि सर्वोच्चका न्यायाधीशहरूले नै प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै इजलास बहिष्कार गरेका थिए। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ। जवराले राजीनामा नदिएपछि बारले महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षण गराएको थियो ।
साथै उनलाई राजीनामा दिन चौतर्फी दबाब परेको थियो । तर प्रधानन्यायाधीशले राजीनामा नदिने बरु महाअभियोगको सामना गर्न तयार रहेको प्रतिक्रिया दिँदै आएका थिए ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको यो दोस्रोपटक हो। यसअघि सुशीला कार्कीविरुद्ध पनि महाअभियोग दर्ता भएको थियो।