Logo

बुधवार, श्रावण २७ गते २०८३

images

गोदावरी र महालक्ष्मीमा राष्ट्रिय परिचय–पत्रको विवरण संकलन गर्ने कार्य फागुन १५ गतेदेखि

गोदावरी र महालक्ष्मीमा राष्ट्रिय परिचय–पत्रको विवरण संकलन गर्ने कार्य फागुन १५ गतेदेखि

दैनिकी न्यूज

३, फाल्गुण २०७८
गोदावरी र महालक्ष्मीमा राष्ट्रिय परिचय–पत्रको विवरण संकलन गर्ने कार्य फागुन १५ गतेदेखि
images

ललितपुर । ललितपुर जिल्लाको गोदावरी र महालक्ष्मी नगरपालिकामा राष्ट्रिय परिचय–पत्र बनाउन विवरण संकलन गर्ने कार्य फागुन १५ गतेदेखि शुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले राष्ट्रिय परिचय–पत्र विवरण दर्ताको लागि मंगलबार अन्तरक्रिया कार्यक्रमसमेत गरेको छ ।

राज्यबाट प्रवाह हुने सेवासँग आबद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले काम शुरु गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्राईले बताए ।

गोदावरी र महालक्ष्मी नगरपालिकामा राष्ट्रिय परिचयपत्र बनाउने कार्य समाप्त भएपछि ललितपुर महानगरपालिकामा बनाउन शुरु गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । उनले भने, ‘परिचयपत्र बनाउन तालिका बनाउने छौं । सोही तालिकाअनुसार विवरण संकलन गर्ने कार्य हुनेछ ।’

एक व्यक्ति एक परिचयपत्र नम्बर प्रणालीमा नागरिकता, पासपोर्ट, सवारी चालक अनुमतिपत्रलगायतका परिचयपत्रलाई एकीकृत गर्ने कार्यको सुरुवात गरिने सरकारको योजनासमेत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक ललित कुमार बस्नेतले बताए । परिचयपत्रमा वायोमेट्रिक विवरणहरु समेत संकलन हुने बस्नेतको भनाई छ । उनका अनुसार तस्विरमार्फत चेहराको रेकर्डसँगै दशैं औलाको छाप डिजिटल मार्फत संग्रह गरिनेछ । परिचय पत्रमा आँखाको रेटिनाको तस्विर समेत संकलन गरेर राखिनेछ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले उक्त कार्यक्रमको सहजीकरण गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय ललितपुरको सभाहलमा भएको कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोसन ज्ञवाली, गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रविण कोइरालालगायतको उपस्थिति समेत रहेको थियोे ।

ललितपुरमा २०७६ साल असारबाट राष्ट्रिय परिचय पत्र बनाउन शुरु गरेको भएतापनि कोरोनाको कारण रोकिएको थियो । राष्ट्रिय परिचयपत्र भनेको वैयक्तिक, जैविक विवरणहरुको अभिलेख गरिएको विद्युतीय चिप्स हो ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७८ मंगलवार - १४:२८:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology