काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले संसद्मा एमसीसी टेबल भए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले राष्ट्रिय सहमति नभइ एमसीसी टेबल गर्न नहुने निष्कर्ष निकालेको हो।
बैठकपश्चात माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सरकारमा रहने दलहरु सहमति नभइ प्रक्रिया अगाडि बढाउन नमिल्ने धारणा राखे। उनले पाँच दलीय गठबन्धनको निर्णयबिना सरकार गर्ने निर्णय गठबन्धनको नहुने बताए।
उनले यथास्थितिमा एमसीसी पारित गर्ने पक्षमा माओवादी केन्द्र नभएको स्पष्ट पारे। ‘संसदमा एमसीसी टेबल भए विपक्षमा उभिने निर्णय भएको छ’, प्रमुख सचेतक गुरुङले भने, ‘जबरजस्ती गरे सरकार छोड्ने निर्णय भएको छ।’
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले आज बस्न लागेको संसदको बैठकमा एमसीसी टेबल हुने विश्वास व्यक्त गरेका छन्। तर, गठबन्धनमा रहदै आएको माओवादी केन्द्रले यस विषयमा राष्ट्रिय सहमति जुट्नुपर्ने निर्णय गरेको हो ।
बैठकलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार गएका छन्।