काठमाडौं । आजदेखि सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक राजधानीमा सुरु हुँदैछ । माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुनेछ । एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो ।
व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पार्टीको निर्णयमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल लगायतको फरक मत छ । केन्द्रीय समिति बैठकमा एमसीसीको विषय लिखतरुपमै राख्ने उनीहरुको तयारी छ ।
११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय कमिटीलाई दिएको थियो । माओवादीले २४७ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेको छ ।
माओवादी केन्द्रमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुईजना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ ।