काठमाडौं । रंगको पर्व फागु आज (बिहीबार) विधिवत सुरु भएको छ । आज काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीन छत्रे होलीको चीर ठड्याएसँगै देशभर फागुको विधिवत सुरुवात भएको हो ।
यो पर्व फाल्गुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म अर्थात् आठ दिन मनाइन्छ । अन्तिम दिन चीर ढालिएसँगै पर्व समापन गरिन्छ ।
फाल्गुन पूर्णिमाको दिन मनाइने होली यो वर्ष पहाडी क्षेत्रमा चैत ३ गते र तराई भेगमा चैत ४ गते मनाइने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
वसन्त उत्सवका रुपमा समेत मानाइने रंगहरुको पर्व होलीको पौराणिक तथा सांस्कृतिक महत्व रहेको छ वसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रुपमा लिइन्छ। आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अविर लगाएर शुभकामना आदानप्रदान गरिन्छ।