काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालसहितका १४ सांसदविरुद्ध दायर गरेको रिटलाई पूर्ण सुनुवाइका लागि पठाउने आदेश भएको छ । आइतबार नियमित पेसीको रुपमा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण सुनुवाइका लागि पठाउने आदेश दिएका हुन् ।
एमाले पार्टी विभाजन हुँदा सभामुख अग्निप्रसाद सापकोटाले असंवैधानिक कदम चालेको र अवैध तरिकाले माधवकुमार नेपालसहित १४ सांसदको पद जोगाएको भन्दै गत भदौ १७ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटमा एमालेले कारबाही गरेका १४ जना सांसदको पद खारेज हुनुपर्ने, ती सांसदहरू आबद्ध भएको एकीकृत समाजवादी पार्टीको वैधानिकता खारेज हुनुपर्ने लगायतका माग गर्दै एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले रिट दर्ता गराएको थिए ।
एमालेले नेकपा एसका सांसदहरु माधवकुमार नेपाल, विरोध खतिवडा, रामकुमारी झाक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुनलाई निष्कासन गरेको थियो।
१८ भदौदेखि उक्त मुद्दामा निरन्तर बहस चल्दै आएको छ। यो बीचमा सातपटक हेर्न नभ्याउनेमा परेको थियो भने एकपटक स्थगित भएको थियो।