ललितपुर । ललितपुरको बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनको तोक आदेशबाट आर्थिक सहयोगमा किनिएको प्रिन्टरबाट नक्कली नोट छापिएको छ। बागमती गाउँपालिका वडा नं. ४ प्युटारबाट नक्कली नोट छापेर बजारमा कारोबार गर्ने २५ बर्षका दिपक कुमार गौत्तम पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीले नक्कली नोट सहित पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका वडा नं. १० टाखेलबाट गौतमलाई पक्राउ गरेको हो । बागमती गाउपालिका वडा नं. ४ प्युटारका दिपक कुमार गौतमको साथ बाट एक हजार रुपैयाँको दुई वटा नक्कली नोट फेला परेपछि थप चेक जाँच गर्दा निज गौतमको कोठाबाट एक हजार रुपैयाँको १३ वटा र पाँच सय रुपैयाँको ३८ वटा नोट समेत गरी तीस हजार रुपैयाँको नक्कली नोट फेला परेको प्रहरी उपरीक्षक सिद्धि बिक्रम शाहले जानकारी दिएका छन्।
शाहका अनुसार गौतमको घर बाट रंगिन प्रिन्टरसहित नकाटिएको एक थान नक्कली नोट फेला परेको हो। गौतम प्युटारमा सामान्य इलेक्ट्रोनिक पसल सञ्चालन गरेर बस्दै आइरहेको थिए। निज गौतमलाई हाल माहानगरीय प्रहरी प्रभाग चापागाउले जिल्ला अदालत ललितपुरको अनुमतिमा थप सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ । कसुर ठहर भएमा मुद्रा सम्बन्धी कसुर अनुसार १० बर्ष सम्म कैद सजाय हुन सक्ने ब्यबस्था रहेको छ।
पक्राउ परेका गौतमलाई गत बर्ष बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनको तोकआदेशमा जनतासँग अध्यक्ष कार्यक्रमबाट बजेट बागमती गाउँपालिकाले कम्प्युटर, प्रिन्टर लगायतका सामग्रीहरु खरिद गरिदिएको हो ।
