ललितपुर । यातायात व्यवस्था कार्यालय, एकान्तकुनाको रजिष्टरसहित विचौलिया मनोज बास्तोला आइतबार ललितपुर–११ शंखमुलबाट पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परीसर ललितपुरले ठगीको अनुसन्धान गर्ने क्रममा पक्राउ परेका बास्तोलाको साथबाट यातायात व्यवस्था कार्यालयको सवारी दर्ता किताब बरामद भएको महानगरी प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सिद्धि विक्रम शाहले बताए ।
‘हुण्डाइको ग्राण्ड आई टेन बा. १२ च.४४९९ नंं को कार बिक्री गरिदिन्छु भनेर पैसा लिएर गाडी नदिएपछि उनीविरुद्ध ठगीको उजुरी परेको थियो’ एसपी शाहले भने, ‘उनले पीडितको नाममा सारिएको ब्लू बुक पनि दिएका थिए, तर गाडी दिएका थिएनन् ।’
यही विषयमा अनुसन्धान गर्दै जाँदा बाँस्तोलासँग सरकारी कागजातहरु नै भेटिएको शाहले बताए ।
ललितपुरको एकान्तकुन स्थित यातायात कार्यालय अगाडी होटलमा बसी कात्तिक २८ गते हुण्डाई कं. को ग्राण्ड आई टेन कार पास भयो भनी बास्तोलाले गाडीको व्लु बुक समेत शेर सिंह थापालाई दिई पनि हालसम्म सवारी साधन नदिई ८ लाख ५० हजार ठगी गरेको भनी थापाले परिसर ललितपुरमा जाहेरी दिएका थिए ।
आज विहान शंखमुलमा भएको प्रहरी चेकिङमा वास्तोलाले साथमा बोकी हिडेको निलो रङको प्लाष्टिकको झोला चेकजाँच गर्दा यातायात कार्यालय वागमती लेखिएको सवारी दर्ता गर्ने रजिष्टर र सो रजिष्टरहरुमा विभिन्न सवारी साधनहरु नामसारी दर्ता भएको व्यहोरा उल्लेख भई कार्यालयको छापसमेत फेला पारेको थियो । सोही क्रममा बास्तोला प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।
बास्तोलाको साथबाट यातायात व्यवस्था कार्यालय वागमती लेखिएको ११०९ नं. समेत लेखिएको पहेलो रङको सवारी दर्ता किताव एक थान, र यातायात ब्यवस्था कार्यालय वागमति लेखिएको १६९० नं अंकित ४५४० देखि ४६७९ सम्म २६ च समेत लेखिएको गुलावी रङको सवारी दर्ता किताव १ थानसमेत बरामद गरेको छ ।
यातायात व्यवस्था कार्यालय एकान्तकुनामा रहनुपर्ने सरकारी कार्यालयको सवारी दर्ता गर्ने अभिलेखको रजिष्टर व्यक्तिसँग के कसरी प्राप्त भयो भन्ने विषयमा समेत थप अनुसन्धान कार्य भईरहेको एसपी शाहले जानकारी दिए ।
उनीमाथि थप अनुसन्धान गर्न परिसरले ललितपुर जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ।