काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ। पछिल्लो सयम इन्धनको मूल्य बढ्दै गएपछि सरकारले सवारीसाधनको भाडा १३ प्रतिशतसम्म बढाएको हो।
तेलको मूल्य वृद्धि भइरहँदा यातायात व्यवसायीले दबाब दिएपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा हाल कायम रहेको दरमा ११ देखि १३ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो। लाेकल रुटकाे भाडा भने यथावत् नै छ ।
पेट्रोलियम पदार्थको मूल्य बढेपछि सार्वजनिक यातायातको भाडा बढाउन व्यवसायीले सरकारमाथि दबाब दिएका थिए। अबदेखि इन्धनको मूल्य बढ्दा भाडा बढ्ने घट्दा भाडा पनि घट्ने विभागले जनाएको छ।
विभिन्न रुटमा बढेको भाडादर र बढेको भाडा लागू हुने मिति भने आगामी आइतबारमात्र सार्वजनिक गरिने जानकारी यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले दिए।