ललितपुर । नेकपा (माओवादी केन्द्र)ले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अघिल्लो पटकभन्दा यस पटक राम्रो नतिजा ल्याउने दाबी गरेको छ ।
माओवादी केन्द्रले विसं २०७४ को स्थानीय तहको निर्वाचनमा झन्डै १३०० वडा र ११६ स्थानीय तहमा जित निकालेको थियो ।
निर्वाचनमा वाम पार्टीमध्ये आफूहरु सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित हुने माओवादीको केन्द्रीय कार्यालयका इञ्चार्जसमेत रहेका पूर्व अर्थ तथा उर्जा मन्त्री वर्षमान पुनले जानकारी दिए ।
प्रेस सेन्टर नेपाल उपत्यका/प्रदेश/एशोसियट प्रदेश समिति संयुक्त रुपमा ललितपुरको डिलाइट पार्टी भेन्यूमा बिहीबार आयोजना गरेको कार्यक्रममा नेता पुनले भने, ‘हामी आफ्नै तागतमा विश्वास गर्छौँ । विगतको भन्दा राम्रो नतिजा हामी निकाल्छौँ ।’ उनले आफूहरु गठबन्धनको विरोधी नभए पनि कमजोर स्थानमा मात्रै गठबन्धन हुने र सबै स्थानमा भने नहुने स्पष्ट पारे ।
अन्य दलको तुलनामा माओवादी कमजोर नभएको तथा जनताको विश्वाससमेत कायम भएकाले त्यसैमा भर पर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘देश माओवादीको एजेण्डामा चलेको छ ।’ २०७४ सालको चुनावमा माओवादीसँग जम्मा तीन लाख पार्टी सदस्य रहेकोमा अहिले बढेर साढे आठ लाख पुगेकाले दुई सय पालिका जित्न माओवादीलाई कुनै पार्टीसँग गठबन्धन बताए ।
६ हजार सात सय ४३ वटै वडाको मत विश्लेषणको प्रारम्भिक रिपोर्ट सुनाउँदै नेता पुनले केही शहरी इलाकामा बाहेक गत स्थानीय तह निर्वाचनमा भन्दा माओवादीको अवस्था सबैतिर सुदृढ रहेको जानकारी दिए । चुनावी तयारीका क्रममा देशभरबाट प्राप्त रिपोर्टका आधारमा माओवादीले यसअघि दोस्रो भएका ७४ स्थानमा सजिलै जित्ने अवस्था देखिएको उनको दाबी रहेको छ ।

दुई–दुई पटक प्रतिनिधिसभाको विघटन गर्ने, संविधानको मूलमर्म र भावनामा प्रहार गर्ने एमालेसँग जनताको घरदैलोमा जाने एजेण्डा नभएपछि अन्य राजनीतिक दलको तेजोवोधन गर्न लागिपरेको उनको भनाइ छ ।
अन्य पार्टीले जितेको भन्दा माओवादीले नेतृत्व गरेका पालिकाको पाँच वर्षे कार्यसम्पादन अब्बल रहेको, बेरुजु कम भएको, विकास निर्माणको काम प्रभावकारी भएको तथा अन्य सूचकसमेत राम्रो भएको जनाउँदै उनले त्यही कुरा लिएर जनतामा जानुपर्नेमा नेता पुनको जोड थियो ।
अग्रगामी एजेण्डा, विचार, राजनीतिकलगायतका कारणले पनि अन्य दलभन्दा माओवादी अब्बल रहेको भन्दै उनले आफ्नै बलबूतामा आफूहरुले पुनः श्रेष्ठता हासिल गर्ने बताए ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रेस सेन्टरका इन्चार्ज महेश्वर दाहाल, माओवादी केन्द्रका प्रचार विभाग सचिव गोविन्द आचार्य, प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटा जुगलले समेत सम्बोधन गरेका थिए ।
कार्यक्रमको सभापतित्व प्रेस सेन्टरका उपत्यका प्रदेश अध्यक्ष नवराज दाहालले गरेका थिए । त्यस्तै कार्यक्रम सञ्चालन एशोसिएट प्रदेशका अध्यक्ष रोयल आचार्य र स्वागत मन्तब्य प्रतिष्ठानका अध्यक्ष वीरेन्द्र ओलीले गरेका थिए ।
कार्यक्रममा माओवादी केन्द्र ललितपुरका संयोजक शिव कट्टेल, कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल सितांन, वागमती प्रदेश सदस्य नवराज ढुंगाना, पत्रकार महासंघ काठमाडौंका अध्यक्ष सूर्य सुवेदी, ललितपुरका अध्यक्ष सागर न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।