ललितपुर । ललितपुरका ६ स्थानीय तहमा सत्तारुढ राजनीतिक दलहरूको गठबन्धन गर्न छलफल तीव्र पारिएको छ । जसअनुसार आइतबार बेलुका नेपाली कांग्रेसको पार्टी कार्यालय नख्खिपोटमा बसेको संयुक्त बैठकले गाउँ तथा नगरपालिकामा गठबन्धन गर्न वडाको वास्तविक रिपोर्ट लिने निर्णय गरेको छ ।
जुन बैठकले वडा र स्थानीय तहको गठबन्धन सम्बन्धमा राजनीतिक अवस्था र वस्तुस्थितिबारे बृहत छलफल गरी सत्ता गठबन्धन दलको संयुक्त प्रतिवेदन चैत्र २२ गतेभित्र गठबन्धन दलको जिल्ला कार्यालयमा उपलब्ध गराउने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए ।
चैत १८ गते बसेको जिल्ला स्तरको गठबन्धनको बैठकले ललितपुरको ६ वटै स्थानीय तहमा पाँचै दलका ३÷३ जना रहेको संयन्त्र बनाइएको छ । संयन्त्रमा रहेका नेताहरूले पालिका र नगरस्तरको वास्तविक अवस्था, मतदाता संख्या, पार्टी कमिटी सबै समेटेर सम्बन्धित पार्टीलाई रिपोर्टिङ गर्ने सहमति भएको थियो । सोही रिपोर्टको आधारमा जिल्लाको बैठक बस्ने र चुनावी तालमेलबारे प्रस्ताव केन्द्रमा बुझाउने तयारी छ । केन्द्रमा पठाएको रिपोर्ट अनुमोदन भएपछि स्थानीय तह भागवण्डा हुने र त्यही अनुसार ललितपुरका ७१ वटै वडा पनि बाँडफाँड हुनेछ ।
ललितपुरमा ६ वटा स्थानीय तह र ७१ वटा वडा छ । वैशाख ३० गते हुने निर्वाचनमा ललितपुरमा साना ३१ दल दर्ता भएका छन् । निर्वाचन कार्यालय ललितपुर प्रमुखका अनुसार राष्ट्रिय पार्टी रहेका ६ दल सहित ललितपुरमा ३७ दलले स्थानीय निर्वाचनमा भाग लिनेछन् ।
ललितपुरमा महिला १ लाख २४ हजार ९५० र पुरुष १ लाख १८ हजार ९३३, अन्य एक जना गरी कुल २ लाख ४३ हजार ८८५ मतदाता छन् । अन्यमा रहेका एकजनाले सर्वोच्चमा मुद्दा जितेर महिला बनेकी छन् ।
गठनबन्धनको जिल्ला स्तरको अर्को बैठक चैत २३ गते हुने बताइएको छ ।