काठमाडौँ । स्थानीय तहको चुनावमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका ५ दलले महानगरपालिकाका मेयर र उपमेयर पदको भागबन्डा गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले छ वटा महानगरपालिकाको मेयर र उपमेयर पदको भागबन्डा गरेको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर पाएको छ । नेकपा माओवादी केन्द्रले भरतपुर, जसपाले वीरगन्ज र नेकपा (एकीकृत समाजवादी) ले पोखरा महानगरपालिकाको मेयर पाएका छन् ।
त्यस्तै, उपमेयरतर्फ वीरगन्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर नेपाली कांग्रेसले लिएको छ भने ललितपुरको उपमेयर माओवादी केन्द्रले पाएको छ । काठमाडौंको उपमेयर एकीकृत समाजवादी र विराटनगरको उपमेयर जसपाले पाएको छ । दलहरूले अघिल्लो निर्वाचनमा जितेका स्थानीय तहलाई प्राथमिकतामा राखेर भागबन्डा गरेका हुन् ।