काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी र सत्ता गठबन्धनको बागीका रुपमा उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका छन् । उनले पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सक्रियताका लागि पर्न पनि अपिल गरेका छन् ।
प्रधानमन्त्री समेत रहेका देउवाले आज बिहीबार वक्तव्य जारी गर्दै स्वतन्त्र तथा बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता गरी गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका हुन् ।
हेर्नुहोस विज्ञप्ति
आदरणीय साथीहरू,
मुलुकमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, नयाँ संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यताको संरक्षण र सुदृढीकरण गर्न तथा लोकतन्त्र विरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गरी देश, संविधान र गणतन्त्रलाई जोगाउन मुलुकमा लोकतान्त्रिक र परिवर्तनकारी शक्तिहरूका बीचमा तालमेल र सहकार्य गरी मुलुकलाई राजनीतिक स्थायित्व र सहज निकास दिनुपर्ने यथार्थतालाई आत्मसात् गर्दै, प्रतिगमनलाई परास्त गरी राष्ट्रको सर्वाङ्गीण र अग्रगामी विकास र सम्मृद्धिका लागि वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पाँच दलका बीचमा देशभर नै स्थानीय अवस्था अनुसार चुनावी तालमेल गर्ने र संविधान विरोधी तथा लोकतन्त्र विरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरी स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारहरूलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधार स्तम्भहरूलाई मजबुत बनाउनु आजको सर्वाधिक आवश्यकता हो।
एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थितिप्रति म जानकार छु। तर पार्टीको विजयका लागि “साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी” भन्ने उच्चतम् भावना राख्न र नेपाली कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठबन्धनका दलहरूसँग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु।
यसर्थ पाँचदलीय गठबन्धनको अपरिहार्यतालाई आत्मसात् गर्दै, नेपाली कांग्रेस पार्टीकै नेतृत्वमा पाँच दलका बीचमा भएको स्थानीय तहको निर्वाचनसम्बन्धी तालमेलका विषयमा पाँचदलीय गठबन्धनको पटकपटक बसेको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि केन्द्रीय कार्यालयमार्फत पार्टीका देशभरका सातवटै प्रदेश कार्यसमिति, ७७रै जिल्ला कार्यसमिति र सबै प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति लगायत पार्टीका सबै तह र निकायलाई निर्देशन गरिएको र पार्टीका सबै सदस्यहरूलाई अनुरोध र आह्वान गर्दा गर्दै पनि, पाँच दलीय गठबन्धनको निर्णय र सहमतिअनुसार, पार्टीका उम्मेदवार र गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउने अभियानमा सक्रिय हुनुपर्नेमा, त्यसको विपरीत पार्टीकै साथीहरूबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएको र गठबन्धन गरिएका दलहरूका बीचमा भएको सहमति अनुसार उम्मेदवारी छाड्नुपर्ने स्थानमा समेत उम्मेदवारी दर्ता गराएको पाइएकोले देशभरका स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र वडाअध्यक्ष, सदस्य पदमा पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका पार्टीका साथीहरूले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आकलन गरी आआफूले दर्ता गराउनु भएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले तोकेको समय २०७९ वैशाख १६ गते बेलुकी ५ बजेभित्र सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई फिर्ता लिई दिनु हुन र पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि हार्दिक अपिल गर्दछु।
जय नेपाल
शेरबहादुर देउवा, सभापति