काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा यसअघि भएको सहमतिविपरीत गठबन्धन दलबाट परेको उम्मेदवारी तत्काल फिर्ता लिने निर्णय गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले भागबण्डामा परेका दलको मात्रै उम्मेदवारी कायम राख्ने निर्णय गरेको हो ।
गठबन्धनको सहमतिविपरीत स्वतन्त्र रूपमा दर्ता भएका उम्मेदवारी पनि तत्काल फिर्ता लिन पहल गर्ने निर्णय बैठकले गरेको छ।
पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलसँग भएको तालमेल तत्काल खारेज गर्ने र यसलाई अटेर गरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने सहमति भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगले शुक्रबार अपराह्न ५ सम्मको समय दिएको छ।