Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जनताले माओवादीलाई नै विश्वास गर्नेछन्ः मणिराम बुढाथोकी

जनताले माओवादीलाई नै विश्वास गर्नेछन्ः मणिराम बुढाथोकी

दैनिकी न्यूज

१९, बैशाख २०७९
जनताले माओवादीलाई नै विश्वास गर्नेछन्ः मणिराम बुढाथोकी
images

पुष्पा महरा/२०४७ सालदेखि संयुक्त जनमोर्चाबाट राजनीतिक यात्रा सुरु गर्नुभएका सुनिलस्मृति गाउँपालिका वडा नं. ५ रिझाका स्थायी बासिन्दा मणिराम बुढाथोकी यतिबेला नेकपा (माओवादी केन्द्र) को तर्फबाट अध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ ।

राजनीतिमा आउनु अघि शिक्षण पेशामा आवद्ध उहाँ तत्कालीन पञ्चायती व्यवस्थाको षड्यन्त्रका कारण अर्धभूमिगत बन्नुपरेको थियो । सोही क्रममा शिक्षण पेशा छोडी राजनीतिमा होमिनुभएको थियो उहाँ। २०४९ सालको स्थानीय निर्वाचनमा गाउँपालिका उपाध्यक्ष बन्नुभएका उहाँ तत्कालीन अवस्थामा जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय र त्यसका प्रमुखहरु सिडिओसँगको रिसिइबीका कारण सरकारी पक्षबाट धरपकड हुने, प्रहरीद्वारा पक्राउ गर्न लगाउने तथा यातना दिने क्रम अत्याधिक बढ्दै जान थाल्यो । राज्यविरुद्ध आवाज उठाउँदा अर्धभूमिगत बन्नुभएका उहाँ जनयुद्ध शुरु भएपछि उहाँ पनि त्यसमै होमिनुभयो।

२०५३ सालमा पक्राउ पर्नुभएका उहाँ ७ वर्ष जेल जीवन बिताउनु भएको छ । २०५९ सालमा रिहा भएपछि पुनः पार्टीकै सम्पर्कमा आई हालसम्म निरन्तर लागिरहनु भएको छ । अहिले गाउँपालिका अध्यक्षको उम्मेदवार बन्नुभएका उहाँसँग स्थानीय तह निर्वाचनबारे गरिएको कुराकानी–

तपाईंले उम्मेदवारी दिनुभएको स्थानीय तहका विशेषता के–के हुन् ?
रोल्पा जिल्ला नै निकै दुर्गम जिल्ला हो । अहिले सुगम भनेर हटाइए पनि हिजो पञ्चायती शासनकालमा यहाँका मानिस बुटवल, भैरहवा, कृष्णनगरबाट नुन चामल बोकेर ल्याई खाने गर्दथ्यौं । नेपालमा कांग्रेस, एमालेले लामो समय शासन व्यवस्था सञ्चालन गरे पनि रोल्पामा भने विकास परिवर्तन भएको थिएन ।
जब २०६२/०६३ पछि माओवादीले सरकार सञ्चालन ग¥यो, विकासले जिल्लाको मुहार फेरिएको छ । बाटो विस्तार, स्वास्थ्य क्षेत्रको सुधार, शिक्षालगायत भौतिक र आधारभूत आवश्यकताहरुलाई माओवादी नेतृत्वले पूरा गरिदिएको छ । केही पूरा हुने क्रम जारी छ । सुनिल स्मृति गाउँपालिकामा पनि यस्तै हो । अघिल्लो नेतृत्वले यस गाउँपालिकामा विकासका धेरै कामहरु गरेका छन् । यहाँका जनताले विकास, समृद्धि र सुशासनको अनुभूति गर्न पाएका छन् ।

तपाइँका चुनावी एजेण्डाहरु के के छन् ?
पार्टीका एजेण्डा, हामी विकास निर्माणका कामहरु गर्दैछौं । अघिल्लो पटक पनि माओवादी केन्द्रले नेतृत्व गर्दा सुनिलस्मृति गाउँपालिका उत्कृष्ट गाउँपालिका बन्न सफल बनेको थियो । त्यतिबेला केही पूरा भए, केही जग बसाल्ने काम मात्रै भएका छन्, तिनलाई पूरा गर्नु नै हाम्रो मुख्य एजेण्डा रहेको छ ।

यातायातको विस्तार, खानेपानी, विजुली, स्वास्थ्य, शिक्षालगायतमा स्तरोन्नति गर्दै, अपुग भएका स्थानमा संघ प्रदेशसँग सहकार्य गरी काम गर्ने र सुनिलस्मृति गाउँपालिकालाई थप उँचाइमा पु¥याउने हो ।

तपाईका जितका आधारहरु के के हुन् ?
सुनिलस्मृति गाउँपालिकामा कुल १७ हजार ६२८ मतदाता रहेका छन् । जसमध्ये २६ सय बढी माओवादी केन्द्रको पूर्णकालीन पार्टी सदस्य (होल टाइमर) हुनुहुन्छ । एक जना मानिसले ३÷४ जना मानिसलाई (कन्भिन्स) गर्न सक्यो भने पनि माओवादी केन्द्रले अत्यधिक मतले विजयी हुनेछन् । त्यस्तै माओवादी नेतृत्वले नै जनताका समस्या र विकासका कामहरु गरेकाले जनताले पनि माओवादीलाई नै विश्वास गर्नेछन् ।

यस गाउँपालिकाका लागि तपाई नै आवश्यक किन ?
पार्टीमा बराबरी हैसियत भएका सहयोद्धा साथीहरु धेरै हुनुहुन्छ । म सुलिचौर बजारमा बसेँ । यो एउटा नाका पनि हो, त्यसैले म यहाँ भएपछि जनतासँग म अलि बढी नजिक भएँ। जनताको समस्यासँग प्रत्यक्ष सरोकार राख्ने काम गरँे । जनताको सुशासनका पक्षमा सधैँ लडिरहेँ । यसले गर्दा जनताको समस्या हल गर्न सक्ने क्षमता पार्टीले पनि ममा देख्यो होला । त्यसैले मलाई पार्टी केन्द्रले टिकट दियो ।

यस गाउँपालिकामा भ्रष्टाचारको अवस्था कस्तो छ ?
देशव्यापी मौलाइरहेको भ्रष्टाचार सुनिलस्मृति गाउँपालिकामा भने खासै देखिएको छैन । जनता पनि सचेत भएको र कर्मचारी पनि इमान्दारीपूर्वक काम गरेकाले यहाँ भ्रष्टाचारको गन्ध पाइँदैन । ‘भ्रष्टाचार म गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ’ भन्ने मेरो धारणा छ । यदि मैले नेतृत्व लिए भने पनि म भ्रष्टाचार हुन दिने छैन ।

images
प्रकाशित मिति :बैशाख १९, २०७९ सोमवार - २१:१२:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology