काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) पुनः बढेको छ । घटेर साढे १८ सयको बिन्दुसम्म झरेको परिसूचकले २ हजारको बिन्दु पार गरेसँगै बजारमा उकालोको यात्रा शुरु भएको देखिन्छ ।
सेयर मूल्य मापक नेप्से परिसूचक गत सातादेखि यता निरन्तर बढेको छ । यो साताको पहिलो दिनमै पनि परिसूचक ५७ दशमलव ६१ अंकले बढेर २०८६.३८ बिन्दु पुगेको छ । जुन दिनभरको उच्च बिन्दु पनि हो भने शुक्रबारको तुलनामा २ दशमलव ८४ प्रतिशतको वृद्धिदर हो ।
बजारमा परिसूचक मात्रै नभई कारोबार रकम पनि बढ्दो छ । आज आइतबार २ अर्ब ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये ङादी ग्रुपको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन २२ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जसको सेयर मूल्य भने घटेर प्रतिकित्ता ५०९ रुपैयाँमा झरेको छ ।
बढ्दो बजारमा अधिकांशको सेयर मूल्य पनि बढेको छ । आइतबार मात्रै ७ वटा कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । साल्ट ट्रेडिङ्ग, हिमालयन पावर पार्टनर, अप्पर तामाकोशी हाइड्रोपावर, साञ्जेन जलविद्युत कम्पनी, नेष्ठो सम्वृद्ध लघुवित्त वित्तीय संस्था र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ९.९६ प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको छ ।
बढी गुमाउनेको सूचीमा बैंक अफ काठमाण्डूको ऋणपत्र रहेको छ । बैंकको ‘८.५ प्रतिशत बीओके डिबेन्चर २०८६’ नामक ऋणत्रको भाउ ९.३१ प्रतिशतले घटेर ८७१ रुपैयाँमा झरेको छ ।
त्यस्तै, कारोबारमा अएका सबै समूहमा हरियाली छाएको छ ।