काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।
पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पालिका चुनावको समीक्षा र आसन्न चुनावको तयारीका सम्बन्धमा छलफल गर्न आज दिउँसो १ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएका हुन् । बैठकमा नेता शेखर कोइराला पक्षले सरकारको काम, कारबाहीबारे गम्भीर समिक्षा गर्ने एजेन्डा तय गरेको छ ।
हिजो बसेको नेता कोइराला पक्षको बैठकले सरकारमाथि भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो । कोइराला पक्षले सरकारले ल्याएको बजेटमा पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ ।
यस्तै पार्टी सभापति देउवाले पार्टीलाई विधिवत् रुपमा अघि बढाउन नसकेको कोइराला पक्षको आरोप छ । पार्टी सञ्चालनमा सभापति देउवाले एकलौटी गरेको भन्दै विरोध गर्दै आएको कोइराला समूहले यसपटकको केन्द्रीय समिति बैठकमा दबाब बढाउने भएकोे छ ।
१४औँ महाधिवेशनपछि ६ महिनामा गरिसक्नुपर्ने विधानबाट निर्देशित कामसमेत सभापति देउवाले पूरा गर्न नसकेको कोइराला समूहको भनाइ छ । सभापति देउवाले सरकार सञ्चालनमा व्यस्त हुँदा विधानले गरेको कोषाध्यक्ष चयनदेखि सदस्यहरूको मनोनयन, विभाग गठन लगायत महत्त्वपूर्ण सङ्गठन व्यवस्थापनका काममा समय दिन सकेका छैनन् ।
बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ। आइतबार बसेको पदाधिकारी बैठकले दुईवटा भ्रातृ संस्था र नौवटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो। भ्रातृ संस्थाका रूपमा नेपाल थारू संघ र नेपाल आदिवासी जनजाति महासंघले मान्यता पाउने भएका छन्।
नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग व्यापार व्यवसायी संघ, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ, नेपाल लोकतान्त्रिक आयुर्वेद तथा प्राकृतिक चिकित्सक संघ, नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ र नेपाल लोकतान्त्रिक भाषा साहित्य लेखक संघलाई शुभेच्छुक संस्थाको रूपमा मान्यता दिने तयारी भएको हो।
यो प्रस्ताव आजदेखि बस्ने बैठकमा प्रस्तुत गरिनेछ। बैठकले भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको विधान स्वीकृत गरी ती संस्थाहरूलाई भ्रातृ तथा शुभेच्छुक संस्थाको रूपमा अनुमति प्रदान गर्नेछ।
अब कांग्रेसका भ्रातृ संस्थाको संख्या १३ बाट बढेर १५ पुग्नेछ भने शुभेच्छुक संस्थाको संख्या २७ पुग्नेछ।