ललितपुर । राजनीतिक प्रतिशोध राखेर ललितपुरको महाँकाल गाउँपालिकाले करारका कर्मचारी हटाउने निर्णय गरेपछि एमाले र माओवादी केन्द्र असन्तुष्ट बनेका छन् । गाउँपालिकाको कार्यपालिका बैठकले १० वर्षदेखि काम गरिरहेका ४५ जना कर्मचारी निकाल्ने निर्णय गरेको थियो । सो निर्णय काङ्ग्रेसले पालिका अध्यक्ष जितेपछि गरिएको हो ।
नेकपा (एमाले) महाँकाल गाउँपालिका अध्यक्ष पुरुषोत्तम हुमागाईले गाउँपालिकाले पार्टी हेरेर कर्मचारी हटाएको आरोप लगाए । उनले भने, हामी यो निर्णयको सशक्तप्रतिरोध गर्छौं । छिट्टै विरोधको कार्यक्रम सार्वजनिक हुन्छ ।’
नेकपा माओवादी गाउँपालिकाले अध्यक्ष बुद्ध नेगीले गाउँपालिकाले गरेको निर्णयले बिरोध बढेको बताए । उनले भने, ‘काम गरिरहेका कर्मचारी हटाउँदा विरोध भएको छ ।’
गाउँपालिकामा सूचना प्रविधि अधिकृतका रूपमा काम गरिरहेका माधव घिमिरेले आजबाट आफू कार्यालय नजाने बताए । गाउँपालिका अध्यक्ष गणेश केसीले छिट्टै सूचना प्रकाशित गरेर करारमा कर्मचारी भर्ना प्रक्रिया सुरु हुने बताए । उनले भने, विशेषज्ञ ल्याएर परीक्षा लिन्छौँ । प्रतिस्पर्धात्मक रूपमा भर्ना हुन्छ । ’
गाउँपालिकाले कृषि, भेटेनरी, ल्याब टेक्निसियन (मानिखेल अस्पतालका बाहेक), १० वर्षसम्म कार्यालय सहायकका रूपमा काम गरेका कर्मचारीको करार अवधि नथप्ने भएको हो ।
गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत,सब निञ्जिनियर,खानेपानी तथा सरसफाइ टेक्निसियन,आईएमएस अपरेटर, फिल्ड सहायक,उद्यम विकास सहजकर्ता, कानुनी सहजकर्ता बाहेकका कर्मचारीको करार अवधि थप नगर्ने गाउँपालिकाले जानकारी दिएको छ । यी सबै पदमा नेपाल सरकारको दरबन्दी छ । तर, पालिकाले सरकारको दरबन्दी नै नभएको पदमा कार्यरत करार कर्मचारीको भने नविकरण गरेको छ । 'यो सबै राजनीतिक प्रतिशोधले गरिएको हो, यसबारे गठबन्धनभित्र पनि कुरा भएन, अध्यक्ष गणेश केसीले एकलौटी गरे,' माओवादीका एक जिल्ला नेताले दैनिकी न्युजसँग भने । स्रोतका अनुसार अध्यक्ष गणेश केसीले पालिकाको नाम समेत परिवर्तन गर्ने निर्णय गरेका छन् । यो कदमको पनि पालिकामा बिरोध भएको छ ।