काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको छ ।
कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर समूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
उक्त आईपीओमा प्रतिकित्ता रू. १०० का दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म साउन १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा माग बमोजिम आवेदन नपरेमा साउन २७ गतेसम्म थप हुनेछ । आईपीओमा प्रबन्धकमा एनआईबीएल एस क्यापिटलसँगै सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै, मेरो शेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी रू. २१ करोड रहेको छ । आईपीओ निष्कासन बाँडफाँटपश्चात् पूँजी रू. ३० करोड पुग्नेछ ।