काठमाडौं । सरकारले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्दा समेत सेयर बजारमा सकारात्मक प्रभाव परेन । कतिपय लगानीकर्ताले संघको प्रदेशको निर्वाचन मिति घोषणा लगत्तै बजार बढ्ने बताईरहँदा सरकारले चुनावी मिति घोषणा गरेको दिन अझै उच्च अंकले घट्न पुगेको छ ।
बजार खुलेसँगै सामान्य अंकले घटवढ भैरहेको बजार सरकारले मंसिर ४ गतेलाई चुनावी मिति घोषणा गरेको समाचार बाहिरिएसँगै अझै बढी अंकले घट्न पुगेको छ ।
बजार आज ३८.६१ अंकले ओरालो लागेको हो। योसँगै २१४८.१६ को विन्दुमा आर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ८.२५ अंकले घटेर ४१२.२५ को विन्दुमा झरेको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २१५ कम्पनीका ८५ लाख ६९ हजार ५ कित्ता सेयर ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँमा किनबेच भएका छन्।
आजसबैभन्दा बढी व्यापार समुहको परिसुचक ५.१३ प्रतिशतले घट्यो भने फाइनान्स र होटल समुहको परिसुचकमा ३ प्रतिशत भन्दा बढीले गिरावट आएको छ । यसैगरी जलविद्युत, विकास बैंक, अतिरिक्त र लगानी समुहको परिसुचकमा २ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।
उच्च अंकले घटेको बजारमा सबै उपसमुहहरुमा गिरावट आएको छ । तर उच्च अंकले घटेको बजारमा बलेफी हाईड्रोपावरको सेयरले भने सर्किट हान्न पुगेको थियो ।