काठमाडौं । पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ जारी पश्चात् सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
सर्वसाधारणमा कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गर्न लागेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरि सकिएको छ । यी वाहेक बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो ।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गदै उल्लेखित शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ छिटोमा भदौ ५ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने भदौ १४ गतेसम्म विक्री अवधि लम्बिनेछ ।
खरिदकर्ताहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर वेवसाइट र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।