ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले बजार अनुगमन गरी पाटन अस्पताल परिसरमा सञ्चालन भइरहेको प्राप्ति चमेना गृहलाई २० हजार रुपैयाँ जरिवाना गराएको छ ।
चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी नियन्त्रणका लागि अनुगमन गर्न हिडेको सो टोलीले आज चमेना गृहलाई सो मुल्य बराबरको रकम तिराएको हो ।
ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले सो चमेना गृहको भान्छा असाध्यै फोहर भएसँगै त्यहाँ बिक्री गर्न राखिएका दही, सैंडविचमा उत्पादनका साथै सकिने म्याद समेत उल्लेख नभएका कारण उक्त मुल्य बराबरको रकम तिराएको बताए । उनले भने, “मुलुकमा चाडपर्व नजिकिएसँगै हामीले दैनिक बजार अनुगमन गर्नेछौं ।” चमेना गृहको किचनेत पनि असाध्य फोहोर भएको, व्यवसाय दर्ता तथा नविकरणसमेत नभएको पन्तले बताए ।
यसैगरी सो अनुगमन टोलीले सो अस्पताल परिसरमा सञ्चालन भइरहेको पाटन अप्टिकल नाम रहेको चश्मा पसल समेत सिल गरेको छ ।
चश्मा पसलको नाम राखेर जुत्ता तथा चप्पल एवं बच्चाको कपडा आदि समेत बिक्री वितरण गरेको पाएसँगै सो टोलिले सिल गरेको हो ।
नाम चश्मा पसल राखेर मात्रै दुईदेखि तीन सङ्ख्यामा चश्माका साथै जुत्ता तथा चप्पल एवं छाता र बच्चाको कपडा राखी दर्ता समेत नगरेको पाएसँगै सिल गरिएको बताए । उनले भने, “नाम एउटा काम अर्को गर्ने भएसँगै कारवाही गरियो ।” सो अप्टिकललाई सात दिन भित्र कागजपत्र सहित प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको पन्तको भनाइ छ ।
सो ललितपुर जिल्लाका प्रजिअ घनश्याम उपाध्यायले केन्द्र सरकारले हिजो जारी गरेको निर्देशन अनुसार बजार अनुगमन थालिएकोे बताए ।
आज विहान ११ बजेदेखि गरिएको अनुगमन टोलीमा ललितपुर जिल्लाका सहायक प्रजित हरि प्रसाद पन्तको नेतृत्वमा नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाका प्रतिनिधि रामहरि कार्की, घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत भूमिका ओझा एवं जिल्ला प्रहरी परिसर जावलाखेलका प्रहरी निरीक्षक किरणप्रकाश मल्लका साथै उपभोक्ता अधिकारकर्मी ध्रुव तण्डुकारको समेत सहभागिता रहेको थियो ।

