काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा आएका धितोपत्र खरीदका लागि आवेदन दिदाँ लाग्ने सि–आस्बा शुल्क घटाउने निर्णय गरेको छ । बोर्डको आइतवार बसेको सञ्चालक समितिको बैठकले अब सि–आस्बा सदस्यहरूले प्रति आवेदक बढीमा पाँच रुपैयाँसम्म लिन पाउने गरी व्यवस्था गर्ने निर्णय गरेको जानकारी अध्यक्ष रमेश कुमार हमालले दिएका हुन् ।
बोर्डको यो निर्णय कार्यान्वयनका लागि चाडै सबै सि–आस्बा सदस्यहरूलाई निर्देशन दिने जानकारी समेत उनले दिए । पछिल्लो समय आस्बा शुल्ककै कारण आवेदकहरूको संख्या घट्दै गएको तथ्याङ्क सार्वजनिक हुन थालेपछि सञ्चालक समितिभित्र छलफल गरी शुल्क घटाउने निर्णय गरिरहेको हमालको भनाई छ ।
लगानीकर्ताको आकर्षक बजारप्रति कायम राख्न बोर्डले यो कदम चालेको जानकारी दिर्दै हमालले ५ रुपैया मध्य १ रुपैयाँ शेयर निष्कासन तथा विक्री प्रबन्धकले र १ रुपैयाँ राफसाफ सदस्य सिडिएस एण्ड क्लियरिङ लिमिटेडले पाउने समेत बताए ।
आस्बा सेवामा हाल ५५ बैंक तथा वित्तीय संस्थाहरू सहभागी रहेका छन् । यी कम्पनीहरूले सार्वजनिक निष्कासनमा आएका धितोपत्र खरीदका लागि आवेदन दिँदा प्रतिआवेदक १० रुपैयाँ देखि १०० रुपैयाँसम्म लिर्दै आएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आस्बा शुल्क बापत सबैभन्दा बढी १०० रुपैयाँ लिदैं आएको हो । हाल नबिल, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक र एनआईसी एसिया बैंकले भने निशुल्क आस्बा सेवा प्रदान गर्दै आएका छन् ।