Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज कुशेऔँसी, बुबाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुबाको मुख हेर्ने दिन

दैनिकी न्यूज

११, भाद्र २०७९
आज कुशेऔँसी, बुबाको मुख हेर्ने दिन
images

काठमाडौं । भाद्र कृष्ण औँसी अर्थात् कुशेऔँसी। देवकार्य र पितृकार्यका लागि वर्षभरि आवश्यक पर्ने कुश काटेर राख्ने परम्परा छ।

पुरोहितले मन्त्रोच्चारणपूर्वक काटको कुश यजमानका घरमा लग्ने परम्परा छ। यसरी काटिएका कुशलाई पवित्र स्थानमा राख्ने वा ढोकामाथि सिउरिने गरिन्छ। यसरी राखिएको कुशले वर्ष दिनभरि घरको रक्षा गर्छ भन्ने विश्वास गरिन्छ।

यसरी राखिएको कुश वर्षभरि पर्ने मांगलिक पितृकार्यलगायतमा प्रयोग गर्ने चलन छ। शास्त्रमा जुन दिन आवश्यक पर्छ त्यही दिन काटेर कुशको प्रयोग गर्नुपर्ने बताइएको छ।

सबैकहाँ नहुने कारणले कुशेऔँसीका दिन पुरोहितले कुश काटेर यजमानका घरमा लग्ने र वर्षभरि प्रयोग गर्ने चलन चलेको हो।

लौकिक चलनअनुसार आज छोराछोरीले खानेकुरा र लुगाफाटोसहित आफ्ना बुबाको मुख हेर्ने गर्छन्।

काठमाडौं उपत्यकाका नेवार समुदायमा चलेको आमाको मुख हेर्ने र बाबुको मुख हेर्ने चलन कालान्तरमा सबैले अपनाएको संस्कृतिविद् बताउँछन्।

यस पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ ।

यसैले आजको औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ । आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्दछ । यसैगरी रसुवाको वेत्रावतीमा पनि भक्तजनको लर्को लाग्छ ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ ।

बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।

अर्थात्ः नुहाँउदा, जप स्नान गर्दा, दानगर्दा, पाठपूजा, पितृकार्यमा समेत प्रयोग हुने वहूपयोगी कुशलाई हिन्दू धर्मावलम्बिहरुले महत्वकासाथ हेर्दछन् ।

images
प्रकाशित मिति :भाद्र ११, २०७९ शनिवार - ०६:३४:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology