काठमाडौं । श्रम अदालत पछिल्लो समय प्रशासनिक सुधार र मुद्दा फैसलामा चुस्त देखिएको छ । श्रमिकको न्यायको भरोसा मानिएको यस अदालतले पछिल्लो तीन महिनामा लक्ष्यभन्दा तेब्बर फैसला गरेको छ । कार्य सम्पादनसँगै अदालतले प्रशासनिक सुधारमा समेत चुस्तता ल्याएको छ । तर, हाल सिमित स्रोत साधनले मात्रै काम गर्नुपर्ने बाध्यता भने अदालतलाई छ । स्थापना कालदेखि नै अदालतको भौतिक संरचनादेखि अन्य असुसविधाहरू भोग्दै आएको छ । कर्मचारी अभाव, न्यायाधीशलाई सवारीसाधनको असुविधा, साघुँरो कार्यालय र कार्यकक्ष, मेलमिलापकर्ताको अभाव, पार्किङ असुविधाजस्ता समस्या अदालले झेल्दै आइरहेको छ ।
हाल सिंहदरबारको पूर्वपट्टी अनामनगरमा रहेको उक्त अदालत राखिएको भवन निकै साघुँरो छ । कार्यकक्ष साघुँरो हुँदा न्याय सम्पादनमा समेत कठिन हुने गरेको अदालतका कर्मचारीहरु नै बताउँछन् । अदालतमा उच्च अदालतसरहका एक अध्यक्षसहित तीनजना न्यायाधीश छन् । तर उनीहरु काम गर्ने ठाउँ निकै साघुरो छ । मिटिङ, पत्रकार सम्मेलन तथा छलफल गर्नको लागि अदालतभित्र ठूलो कोठा समेत छैन । हाल अदालतमा वैतनिक कानुन व्यवसायी र मेलमिलापकर्ता पनि छैनन् ।
त्यस्तै दरबन्दी धेरै भएपनि कर्मचारी संख्या कम हुँदा थोरै कर्मचारीले धेरै काम गर्नुपर्ने बाध्यता छ । तर उनीहरूले कार्यालय समय भन्दा धेरै समय काम गरेपनि ओभरटाईम भक्ता सुविधा पनि छैन ।
एउटै गाडिमा आलोेपालो चढ्छन् न्यायाधीश
चार महिनाअघिससम्म अदालतमा कर्मचारीको लागि कम्प्युटरको समेत र अन्य उपकरण सामग्रीको समेत अभाव थियो । भएका कम्प्युटर पनि थोत्रा थिए । अदालतका अध्यक्ष न्यायाधीश वासुदेव आचायको वहालीपछि भने कार्यालयको कार्य सम्पादनदेखि व्यवस्थापनमा पनि सुधार आएको छ । अध्यक्ष न्यायाधीश आचार्यको पहलमा अर्थ मन्त्रालयले कम्प्युटर किन्ने र गाडि मर्मत गर्ने बजेट दिएको थियो । हाल सबै कर्मचारीले कम्प्युटर प्रयोग गर्न पाएका छन् । त्यस्तै प्रशासनको लागि चाहिने मसलन्द सामान, कम्प्युटर र पुराना गाडि मर्मत भएका छन् । तर न्यायाधीश चढ्ने थोत्रा गाडि बारम्बार बिग्रदा न्यायाधीशलाई कार्यालय आउँजाउमै समस्या हुने गरेको छ । गाडि विग्रिएपछि न्यायाधीश आलोपालो गरेर चढ्छन् । तर बिग्रिएको गाडि मर्मत गर्ने रकम समेत छैन अदालतसँग ।
काम गर्ने कर्मचारीको अभाव
त्यस्तै २४ जना कर्मचारीको दरबन्दी भएपनि हाल श्रम अदालतमा १५ जना मात्रै कर्मचारी छन् । ती मध्ये पनि तल्लो तहका कर्मचारी धेरै छन् । दक्ष कर्मचारीको अभाव छ । जसका कारण कार्य सम्पादनमा सिमित कर्मचारीलाई भार पर्ने गरेको छ । अर्को समस्या भनेको काज सरुवा भएर आउने कर्मचारीको हो । श्रम अदालतमा काम कम छ भन्ने हेत्तुले अन्य निकायबाट कर्मचारीको काज सरुवा यही गरिन्छ । पहुँच हुनेले काज सरुवा गरेर कर्मचारी यहाँ थुपारिदिन्छन् । तर उनीहरु काम गर्न दक्ष देखिँदैनन् । अध्ययन तथा अन्य आफ्नै समस्याले कार्यालयलाई समय दिन नसक्ने कर्मचारीको यहाँ काज सरुवा गरिन्छ । हाल केहि कर्मचारी यस्तै व्यक्तिगत समस्याले विदामा पनि छन् । जसका कारण सिमित कर्मचारीलाई कार्यभार समेत हुने गरेको छ । ‘यस अदालतलाई काम नभएको र कम काम भएको अदालतको रुपमा लिइने गरिन्छ, तर यहाँ सिमित कर्मचारी धेरै कार्यभार बोक्नु परेको छ,’ अदालतका एक कर्मचारीले भने, ‘दरबन्दी अनसारका कर्मचारी भएभने हामीले कार्य सम्पादनमा थप प्रगती र्गा सक्छौं ।’
पछिल्लो समय अदालतको प्रशासनिक सुधार तारिफयोग्य छ । कर्मचारी समयमै आउँछन् । कार्यालयभित्र फेसबुक बन्देज लगाइएको छ । दैनिक समयमै (११ बजे) बेन्च बस्छ । साप्ताहिक तथा १५ दिन भित्र मुद्दा पेसी चढ्छ । हेर्न नमिल्नेमा कुनै पनि मुद्दा बस्नदैन ।
लक्ष्यभन्दा तेब्बर मुद्दा फैसला
कर्मचारी अभाव र कार्यालय साघुरो भएपनि अदालतको कार्य सम्पादन भने चुस्त छ । पछिल्लो तीन महिनामा लक्ष्यभन्दा झण्डै तेब्बर मुद्दा फस्र्योट भएका छन् । जेठमा ३२ वटा मुद्दा फैसलाको लक्ष्य राखिएकोमा ५७ वटा मुद्दा फैसला भएको अदालतका रजिस्ट्रार लालसिंह थापाले जानकारी दिए । उनका अनुसार असारमा ३२ लक्ष्य राखिएकोमा ९१ मुद्दा फैसला भएको छ । साउनमा १० वटा मुद्दा फैसला गर्ने लक्ष्य राखिएकोमा १६ वटा मुद्दाको टुंगो लागेको छ । अदालतका अनुसार हाल जिम्मेवारी सरेर आएका मुद्दा संख्या १३४ रहेको छ भने नयाँ दर्ता संख्या २८ र जम्मा दर्ता लगत १६२ रहेको छ । ‘हामीले लक्ष्यभन्दा धेरै मुद्दाको फैसला गरेका छौं, सिमित कर्मचारी र गतिलो भौतिक संरचना नभएपनि न्याय सम्पादन भने चुस्त बनेको छ,’ रजिस्ट्रार सिंहले भने, ‘जेठमा १७८.१२, असारमा २८४.३७ र साउनमा १६० प्रतिशत मुद्दाको फैसला भएको छ ।’ यस अदालतमा श्रमसँग सम्बन्धित मुद्दाको फैसला हुन्छ । पछिल्लो समय न्याय माग्दै श्रम अदालत आउने पीडितको संख्या पनि बढ्दो छ ।
त्यस्तै गएको फागुनमा पनि लक्ष्यभन्दा बढी मुद्दाको फैसला भएको छ । २०७८ को फागुनमा २५ वटा लक्ष्य भएकोमा ३० ओटा मुद्दाको टुंगो लागेको छ ।