काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले आफ्नो १६ औँ वार्षिक साधारणसभा डोकेको छ। गत आर्थिक वर्ष २०७८–०७९ को वार्षिक साधारणसभा डाक्ने सिटिजन्स बैंक पहिलो वाणिज्य बैंक हो।
बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक ४ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोगमा बिहान ११ बजेबाट हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव ९ प्रतिशत नगद लाभांश (लाभांश करसहित) अनुमोदन गर्नेछ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्र्रस्ताव पनि अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि बैंकले यही असोज २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।